आइएसद्वारा बर्लिन ट्रक आक्रमणको जिम्मेवारी दावी



चालक ट्युनिसियालीको खोजी

बर्लिन (एजेन्सी) बर्लिनको क्रिसमस बजारमा सोमबार भएको लरी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । आइएसले आफनो एकजना लडाकुले बर्लिनको क्रिसमस बजारमा लरी आक्रमण गरेको जानकारी दिएको आइएससँग जोडिएको अमाक न्युज एजेन्सीले जनाएको छ ।

क्रिसमसको ब्यस्त बजारमा बेतोडले लरी कुदाएर गरिएको उक्त आक्रमणमा १२ जनाको मृत्यु भएको र अन्य करिब ५ जना घाइते भएका थिए । आइएसले गठबन्धन सेनामा सहभागी देशका नागरिकहरुमाथि हमला गर्न गरिएको अपिललाई लिएर उसको एउटा लडाकुले राजधानीको केन्द्रमा रहेको काइजर विल्हेम मेमोरियल चर्च नजिकको एउटा बजारमा उक्त आक्रमण गरेको जनाएको छ ।

यसअघि जर्मन अधिकारीले आक्रमणमा प्रयोग भएको ट्रक चालक भएको आरोपमा हिरासतमा लिइएका एकजना संदिग्धलाई एक दिनपछि रिहा गरिदिएको छ । जर्मन अधिकारीहरुले उ विरुद्ध मुद्दा दर्ता गर्नका लागि पर्याप्त प्रमाण प्राप्त नभएको जनाएका थिए । सन्चारमाध्यमहरुले ती ब्यक्तीको पहिचान पािकस्तानी नागरिक नावेद बलोच भएको जनाएका थिए । जर्मन सन्चारमाध्यमहरुले स्रोत उल्लेख नगरिकन सरकारले एकजना ट्युनिसियाली ब्यक्तीको खोजी गरिरहेको र उनको पहिचान भएको कागजातहरु ट्रकको क्याबमा फेला परेको बुधबार जनाएका छन् ।

बर्लिनका प्रहरीले आक्रमणपछि मंगलबार रातीसम्म ५०८ वटा सुराकहरु प्राप्त गरेको तर त्यसले कुनै ठोस निष्कर्ष पुग्ने आधार भने प्रसस्त नभएको जनाएको छ । उनीहरुले एकजनाभन्दा धेरै आसंकितको खोजी भइरहेको छ वा छैन भन्ने विषयमा पनि प्रष्ट पारेको छैन । ट्युनिसियाली गृहमन्त्रालय र विदेश मन्त्रालयका प्रवक्ताले सम्भावित संदिग्धको विषयमा कुनै सुचना नभएको जनाएको छ । उनले जर्मन सरकारबाट ट्युनिसियाली सरकारसँग सम्पर्क गरेको विषयमा पनि तत्काल पुष्टी गर्न सकेन ।

आक्रमणपछि ट्रकबाट भाग्न सफल चालकको पहिचानको विषयमा घटनाको जिम्मेवारी लिने आइएसको अमाक समाचार एजेन्सीले पनि कुनै तथ्य खुलाइएको छैन तर उनलाई ‘इस्लामिक स्टेटको एकजना सैनिक‘ भनिएको छ ।

जर्मनीकी चान्सलर एन्जेला मर्केलले आक्रमणमा मारिएकाहरुप्रति श्रद्धान्जली दिँदै उक्त आक्रमणका लागि जिम्मेवार ब्यक्तीहरुलाई कडा भन्दा कडा सजायँ दिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्