केयूमा प्रधानमन्त्रीले हस्तक्षेप गर्ने !



काठमाडौं, ५ पुष ।
उपकुलपतिको नाम सिफारिस गर्न गठित सर्च कमिटिभित्र विवाद भएको कारण काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट हुन नसकेपछि कुलपतिको हैसियतले प्रधानमन्त्रीले हस्तक्षप गरि उपकुलपति नियुत्ति गर्ने सम्भावना बढेको छ ।

तत्कालिन उपकुलपति डा. रामकण्ठ माकाजुको चारवर्षे कार्यकाल मंसिर २६ गते नै समाप्त भएपनि सर्च कमिटिले नाम सिफारिस गर्न नसक्दा प्रधानमन्त्रीले रजिष्ट्रार डा. भोला थापालाई कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिनुभएको छ ।

थापाले उपकुलपतिको जिम्मेवारी सम्हाले संगै रजिष्ट्रारको पद खाली भएको छ । केयूमा कतिपय दैनिक कार्य सञ्चालनको लागि उपकुलपति र रजिष्ट्रारको हस्ताक्षर चाहिने हुन्छ । रजिष्ट्रारको हैसियतमा उपकुलपति बनेका थापाको चारवर्षे कार्यकाल आउदो जेठ सम्म रहेको छ ।

मंसिर २६ गते नियुक्त हुने उपकुलपतिको नाम सिफारिस गर्न विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री धनिराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि गठन गरिएको थियो । समितिमा विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना र संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा सदस्य थिए ।

सर्च कमिटिका सदस्यमध्य संयोजक शिक्षा मन्त्री डा. जनार्दन लामिछानेलाई उपकुलपति बनाउने पक्षमा छन् भने सदस्यद्धय पुन डा. माकाजुलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् । सर्च कमिटिले निर्धारित समयमा उपकुलपति छनौट गर्न नसकेर कमिटिको औचित्यमाथि प्रश्न उब्जिरहेको बेला कुलपतिको हैसियतले प्रधानमन्त्रीले नै हस्तक्षप गरि उपकुलपति छनौट गर्ने सम्भावना बढेको हो ।

केयुको उपकुलपतिको लागि शिक्षा मन्त्रीले चाहेका लामिछाने विश्वविद्यालय भित्र जुनियर व्यक्ति भएको र माकाजु मेडिकल शिक्षाको सन्दर्भमा चरम विवादमा परेकोले यी दुई वाहेक स्वतन्त्र व्यक्तिको नाम सिफारिस हुनुपर्ने केयूका प्राध्यापकहरुले बताएका छन् ।

यता धुलिखेलका पुर्व प्रमुख वेलप्रसाद माकजु लगाएतका समुह डा. माकाजुलाई नै निरन्तरता दिनुपर्ने भन्दै राजनीतिक शक्तिकेन्द्र धाउन थालेका छन् । यीनिहरुले केहि दिनअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेका थिए भने हिजा नेपाली काग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्