स्वास्थ्यकर्मीलाई नम्र बन्न निर्देशन



काठमाडौं (नेस)  स्वास्थ्य मन्त्रालयले     विरामी तथा कुरुवाहरुलाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ (दफा ५२(६७) मा उल्लेख भएअनुसारको आचरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुबाट अशिष्ट, अभद्र र अफ्ठयारो व्यवहार भईरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाले त्यसप्रकारको निर्देशन जारी गर्नुभएको  मन्त्रालयले जनाएको छ । यसै बिषयमा नेपाल समाचारपत्रले मंगलबार दोस्रो पृष्ठमा स्वास्थ्यको रणनीति जारीका बिषयमा कार्यान्वयन र स्वास्थ्यकर्मीको बिरामी प्रति गर्ने व्यहारलाई औल्याएको थियो । यसै बिषयमा केन्द्रीत भै स्वास्थ्य मन्त्री थापाले उक्त निर्देशन दिनुभएको हो ।

मन्त्रालयको चिकित्सा महाशाखाले निर्देशनात्मक परिपत्र पठाउदै सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोशाक, एप्रोन तथा परिचय पत्र लगाएर कार्य गर्न पनि निर्देशन दिएको छ ।

साथै संपूर्ण सरकारी अस्पतालहरुले टिकट काउन्टर अगाडी सबैले देख्ने गरी हरेक चिकित्सकहरुको सेवा दिने दिन र समय स्पष्ट रुपमा देखिने गरी राख्न पनि भनिएको छ ।

निर्देशन पालना नभएमा उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्