ब्रह्मज्ञान



नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् भक्तपुरे कमरेड नारायणमान बिजुक्छे उर्फ रोहितले केही समयअघि राजनीतिक नेताको हत्या हुने कुरा सार्वजनिक रुपमा भन्नुभएको थियो। नभन्दै रूपन्देहीमा सोमबार सानाखाले एक जना नेताको हत्या भएको छ। के कारणले रूपन्देही हत्या काण्ड भयो भन्ने बारेमा कुरा अझै खुलिसकेको छैन। बिस्तारै आउला। तर, रोहित कमरेडको भविष्यवाणी मिलेझैं देखिएको छ।

यता रोहित कमरेडले बोल्नु र उता मान्छे मारिनु बाघ कराउनु र बाख्रा हराउनु जस्तै भएको छ। होइन रोहित कमरेडलाई यस्ता सूचनाचाहिँ कहाँबाट आउने रहेछन् भनेर धरहरा वरपर धेरैले जिज्ञाशा राख्ने गरेका छन्। तर, यो धरहराले रोहित कमरेडलाई सोध्न पाएको छैन।

उहाँको समय मिलेमा कुनै दिन दूरबिन भक्तपुर दरबारतिर केन्द्रित गर्नुपर्ला। त्योभन्दा अघि पनि उहाँले अहिलेको सरकार कुनै छिमेकीले बदल्न लागेको बताउनुभएको थियो। त्यसको परिणाम आउन बाँकी नै छ। त्यो भन्दा पनि धेरैअघि उहाँले २२ हजार सरकारी कर्मचारीले विदेशी दूतावासबाट मासिक तलब बुझ्ने गरेको बताउनुभएको थियो।

फ्याट्टफ्याट्ट उहाँले सनसनीपूर्ण कुरा सार्वजनिक गरिदिनुहुन्छ तर त्यसको वस्तु तथ्यचाहिँ भनिदिनुहुन्न। यो पाराले गर्दा धरहरा पनि हैरान हुन थालेको छ भन्या। लौ न रोहित कमरेड राजनीतिक नेताको हत्या गर्ने सूचना कताबाट आयो खुलस्त पारिदिनु न। अझ सकिन्छ भने २२ हजार कर्मचारीले कुन दूतावासबाट कति तलब खान्छन् भनेर सूची नै सार्वजनिक गरिदिनु न । यसो गर्नुभयो भने यो धरहरा वरपरका मान्छे त सोझै यहाँको भजनकीर्तनमा जुट्नेछन्। लौ न कमरेड कुरा अलि खुलाइदिनु पर्यो। यहाँलाई फ्याट्टफ्याट्ट ब्रह्मज्ञान कसरी आइरहेको छ। यसो सुइँको पाऊँ न।

प्रतिक्रिया दिनुहोस्