प्रतिस्पर्धी वस्तुको उत्पादनतर्फ ध्यान दिन आग्रह



नेपाल समाचारपत्र
काठमाडौं
बाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले स्वदेशमा उत्पादित वस्तुको निर्यातमा वृद्धिमा सहयोग गर्न मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनुभएको छ। मंगलबारदेखि राजधानीमा शुरू भएको १३औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै सचिव उपाध्यायले बजारमा प्रतिस्पर्धी वस्तुको उत्पादनमा व्यवसायीले जोड दिनुपर्ने बताउनुभयो।

उहाँले नेपाली फुटवेयर उद्योग ठूलो सम्भावना भएको उद्योगको रूपमा अगाडि आएको र यसको परिणाम स्वरूप गएको चार महिनामा यस क्षेत्रले ठूलो फड्को मारेको हुँदा यो उद्योग निर्यातको सम्भावना बोकेको उद्योगलाई सरकारले एनटीआईएस सूचीकृत वस्तुको रूपमा राखेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बन्द हड्तालले उद्योग व्यवसाय धरासयी बन्दै गएकाले कुनै पनि बहानामा बन्द हड्ताल नगर्न राजनीतिक दलहरूसँग आग्रह गर्नुभयो। उहाँले उद्योगमा दक्ष कामदारको अभाव रहेको र सोका लागि सरकारले उद्यौगमैत्री वातावरणका साथै दक्ष कामदार उत्पादनमा विशेष ध्यान दिन सके निजी क्षेत्रले प्रगति गर्नसक्ने दाबी गर्नुभयो।

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठले राम्रो र सहज किसिमको वस्तु उत्पादनमा जोड दिन उद्येगी व्यवसायीलाई अनुरोध गर्दै सरकारले दक्ष जनशक्ति उत्पादनको लागि सीपमुलक तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा अध्यक्ष श्रेष्ठले अब नेपाली फुटवेयरको बारेमा समाजका उपल्लो तहका व्यक्ति वा ग्राहकलाई समेत आकर्षित गर्नका लागी पाँच तारे होटलमा समेत मेला आयोजना गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो। पहिलो संस्करणमा जम्मा १२ वटा स्टलबाट शुरु भएको प्रदर्शनी अहिले बृहत् हुन पुगेको श्रेष्ठको भनाइ थियो।

त्यस अवसरमा हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल कपडा तथा सिलाइ व्यवसायी संघका अध्यक्ष सुरज ब्रजाचार्यले स्वदेशी कच्चापदार्थको प्रयोग गरी उत्पादन गर्ने उद्योगीलाई ऋणमा सहुलियत दिनुपर्ने माग गर्नुभयो। त्यस्तै फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठ, महासचिव तथा मेला संयोजक मनोजकुमार श्रेष्ठले मेलाको औचित्यमाथि प्रकाश पार्नुभयो।

एक हप्तासम्म चल्ने प्रदर्शनीमा १२५ वटा स्टल रहने आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ। छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्म जुत्ता, सुट पाइन्ट तथा सुटका कपडा तथा सुटिङ सटिङका स्टल रहने छन्। आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ शुरु भएको प्रदर्शनीमा १५ वटा सिलाई व्यवसायी, दुई वटा छालावस्तु र बाँकी जुत्ताका स्टल रहेका छन्। मेलालाई करिब एक लाख जनाले अवलोकन गर्ने दुई करोड रुपियाँको कारोबार हुने आयोजकको अपेक्षा छ। नेपाली बजारमा वार्षिक ५ करोड जोर जुत्ता चप्पलको माग रहेकोमा ६५ प्रतिशत स्वदेशी उत्पादनले धान्दै आएको छ भने स्वेदशी उद्योगले साढे २ लाखलाई रोजगारी दिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको दाबी छ।

प्रतिक्रिया दिनुहोस्