जर्मनीको व्यस्त बजारमा लरी आक्रमण



१२ को मृत्यु र ४८ घाइते
बर्लिन, (एजेन्सी)

बर्लिनमा १२ जना व्यक्तिको ज्यान जाने र अन्य ४८ जना घाइते हुने गरी भएको लरी आक्रमणमा पक्राउ परेका आशंकित व्यक्तिले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएको जर्मनीको गृह मन्त्रालयले मंगलबार जनाएको छ। थोमस डि माइजिरे सम्भवत पाकिस्तानबाट आएको हुनुपर्ने र उनको शरणार्थीको आवेदन पूरा नभइसकेको बताइएको छ।

जर्मन चानसलर एन्जेलन मर्केलले यदि उनी शरणार्थी हुन् भन्ने प्रमाणित भएको खण्डमा अझै दुःखलाग्दो हुने प्रतिक्रिया दिएकी छिन्। पश्चिम बर्लिनको चर्चित क्रिसमस बजारबाट भागेर दुई किमि पर पुगेको अवस्थामा एउटा पार्कबाट ती आशंकित व्यक्तिलाई पक्राउ गरिएको थियो।

मर्केलले प्रचलित नियम कानुनअनुसार बर्लिन आक्रमणका दोषीलाई कडाभन्दा कडा सजाय दिइने प्रतिबद्धता जाहेर गरेकी छिन्। आप्रवासीसम्बन्धी उनको खुला नीतिका कारण गत वर्ष ८ लाख ९० हजार विदेशी शरण खोज्दै जर्मनी पुगेका थिए। उनको उक्त विवादास्पद नीतिको कारण सुरक्षा खतरामा पर्ने केही राजनीतिक समीकक्षकहरूले विश्लेषण गरेका थिए।

गत जुलाईयता जर्मनीमा तीनवटा छुट्टाछुट्टै आतंककारी हमला भइसकेको छ। सोमबार साँझ पश्चिमी बर्लिनको मुख्य सपिङ स्ट्रिटनजिकको बे्रइत्सचेइप्लात्जको चर्चित बजारमा उक्त लरीले जथाभावी मान्छे किचेको थियो। स्टिलका बिमहरू लोड गरिएको सो लरीले बाटो छेउका काठका स्टलहरू भत्काउँदै पर्यटक र स्थानीय व्यक्तिहरूको भिडमा हुइँकिएको थियो।

डीपीए समाचार निकायले उक्त लरी बजारमा ५० देखि ८० मिटरसम्म चलाइएको प्रहरीलाई उद्धृत गर्दै जनाएको छ। जर्मन सञ्चारमाध्यमले ती आशंकित २३ वर्षीय पाकिस्तानीको नाम नावेद बि भएको र उनी सन् २०१५ को उत्तरार्धमा वा सन् २०१६ को शुरुमा जर्मनी प्रवेश गरेको जनाएको छ।
उनको नाममा प्रहरीमा सानातिना आपराधिक अभिलेख रहेको बुझिएको छ।

घटनास्थलबाट उनलाई पछइएका एक जना प्रत्यक्ष्यदर्शीले प्रहरीलाई खबर गरेका थिए। लरीका सक्कली ड्राइभर भएको विश्वास गरिएका एक जना पोलिस पुरुषलाई प्यासेन्जरको सिटमा मृत फेला पारिएको छ। उक्त लरीका मालिक पोल्यान्डकै एरियल जुराब्स्कीले आफ्नो ड्राइभर सोमबार अपराह्न ४ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्