चिनियाँ राष्ट्रपतिलाई फेरि निम्तो



काठमाडौं, (नेस)

चिनियाँ राष्ट्रपति सी जीङ पीङको नेपाल भ्रमणको अपेक्षा गर्दै पटक–पटक निमन्त्रणा पठाएको नेपालले पुनः राष्ट्रपति सीलाई भ्रमणको निम्तो पठाएको छ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको निम्तो स्मरण गराउनुभएको हो। राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल र नेपालीहरू आतुर रहेको बताउँदै प्रधानमन्त्री दाहालले भ्रमणको प्रसंग जोड्नुभएको थियो।

जवाफमा सीको नेपाल भ्रमणबारे आफ्नो मुलुक सकारात्मक रहेको नेता छिपाओले बताउनुभएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले जानकारी दिनुभयो।

दुवै मुलुकको तर्फबाट हुने उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्ध फराकिलो र बलियो बनाउने मद्दत पुग्ने चिनियाँ पक्षको विश्वास छ, राष्ट्रपति सीको नेपाल भ्रमणबारे चिनियाँ टोली सकारात्मक छ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो। प्रधानमन्त्री प्रचण्ड र नेता छिपाओ बीच दुवै मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध विस्तारबारे पनि छलफल भएको डा. अधिकारीले जानकारी दिनुभयो।

चीनसँग सीमा जोडिएका नाका रेल र सडक सञ्जालमार्फत् सहज बनाउने बारेमा समेत उहाँहरू बीच छलफल भएको बताइएको छ। यसबारेमा सकारात्मक रहेको चिनियाँ पक्षले विगतमा दुवै मुलुकबीच भएका सहमति र सम्झौता कार्यान्वयन बारे चासो लिएको बालुवाटार स्रोतले जनाएको छ। सो भेटवार्तामा नेता छिपाओले नेपाल–चीन बीचको वर्षौं पुरानो सम्बन्ध स्मरण गर्दै नेपालले लिएको एक चीन नीतिप्रति आभार व्यक्त गर्नुभएको बताइएको छ। चिनियाँ पार्टी र माओवादी केन्द्रबीच सम्बन्ध विस्तार गर्ने बारेमा पनि उहाँहरू बीच छलफल भएको थियो।

चिनियाँ टोलीले सोमबार अपरा≈न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छुटाछुट्टै भेटवार्ता गरेको थियो। सो भेटवार्ता पनि द्विपक्षीय सम्बन्ध र आपसी हितबारे केन्द्रित रहेको बताइएको छ। यसअघि दिउँसो छिपाओसहितको टोली सोमबार शुरु भएको चीन महोत्सव मा सहभागी भएको थियो। चिनियाँ टोली नेता रुघाखोकीले ग्रस्त भएपछि एमाले अध्यक्ष ओलीसँग भेट्न नगई सहयोगीहरूलाई मात्रै पठाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्