विद्युत् प्राधिकरणका तीन सञ्चालक बर्खास्त



काठमाडौं, (नेस)

ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गर्दै तीन नयाँ सञ्चालक नियुक्त गरेको छ। लोडसेडिङ घटाउने कार्यमा असहयोग गरेको भन्दै मन्त्रालयले प्राधिकरणका सञ्चालकत्रय लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गर्दै रिक्त तीन सञ्चालक पदमा भक्तबहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई चार वर्षका लागि नियुक्त गरेको हो।

ऊर्जा मन्त्रालयका अनुसार मंसिर ३० गतेको निर्णयमा बर्खास्त गर्दै नयाँ सञ्चालक नियुक्त गरेको जनाएको छ। मन्त्रालयले उपभोक्ताबाट पुन र जलविद्युत् विज्ञबाट जोशी र थानीलाई सञ्चालकमा नियुक्त गरेको हो।

लोडसेडिङ घटाउन अभियानमा असहयोग गरेको तथा अवैध तरिकाबाट सञ्चालक समितिको बैठक बसालेको भन्दै तीन सञ्चालकसँग मन्त्रालयले स्पष्टीकरण सोधेको थियो।उनीहरूले स्पष्टीकरणपत्र बुझ्न नमानेपछि पत्रिकामा सार्वजनिक सूचना गरी गर्दै मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। तर, उनीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएको र असहयोग गरेको भन्दै मन्त्रालयले बर्खास्त गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्