रुसी विमान दुर्घटना, सबै यात्रु जीवित



मस्को, (एजेन्सी) रुसी रक्षा मन्त्रालयको एउटा आईएल–१८ विमान सोमबार साइबेरियामा आपत्कालीन अवतरणको क्रममा दुर्घटना हुँदा त्यसमा सवार ३८ यात्रु घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्। मौसम निकै खराब रहेकाले विमानलाई शक्तिशाली भुमरी वायुले प्रहार गरेको हुनुपर्ने अनुमान गरिएको छ। क्रास्नोयास्र्क क्राइ क्षेत्रबाट ३९ व्यक्ति लिएर उडेको सो विमान साखा क्षेत्रको टिक्सीको उत्तर पश्चिमी भागमा खसेको थियो।

शुरुमा यस दुर्घटनामा थुप्रै व्यक्तिको ज्यान गएको भनी निस्केको खबरलाई रक्षा मन्त्रालयले पछि सच्याएको थियो। यस दुर्घटनामा विमानमा सवार सम्पूर्ण व्यक्ति जीवित रहेको बताइएको छ। टिक्सीदेखि २९ किलोमिटर टाढाको निर्जन क्षेत्रमा विमान खसेको थियो। शक्तिशाली हुरीलाई दोष दिइए तापनि दुर्घटनाको कारण पायलटको गल्ती पनि हुनसक्ने बताइएको छ। रिया नोभोस्तीले ३८ जना व्यक्तिलाई अस्पताल लगिएको जनाएको छ।

तीमध्ये ४ जनाको स्वास्थ्यस्थिति निकै चिन्ताजनक रहेको बताइएको छ। विमानमा बाँकी रहेका अर्का एक व्यक्तिको उद्धार भयो वा भएन भन्ने स्पष्ट हुन सकेको छैन। आपत्कालीन अवतरणको क्रममा सो विमान तीन टुक्रा भएको थियो। १५ देखि २० मिटर प्रतिसेकेन्डको वेगले हावा चलिरहेका बेला उद्धार कार्य भएको थियो। साठी दशकको आईएल–१८ विमान अझै पनि सैन्य सामग्री ढुवानीका लागि प्रयोगमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्