“एमाले राष्ट्र विखण्डनको लाइनमा”



शशांक पौडेल, विराटनगर
धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले एमाले राष्ट्र विखण्डनको लाइनमा रहेको आरोप लगाउनुभएको छ। हिमाल, पहाड र तराई मधेसलाई मिल्न नदिन संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस्तो आरोप लगाउनुभएको हो।

आइतबार विराटनगरमा आयोजित १ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिमाल, पहाड र तराई मधेसलाई एकताबद्ध गर्ने लाइन नै आफूहरूको लाइन रहेको बताउँदै संविधान संशोधन भए मात्रै देश एकताबद्ध हुने बताउनुभयो। सडक आन्दोलन र संसद् अवरोध गर्दै एमालेले राष्ट्र विखण्डनको लाइन लिएको भन्दै उहाँले संविधान सर्वस्वीकार्य बनाउन नदिने एमालेको लाइनलाई समर्थन गर्न नसकिने बताउनुभयो।

कसैले संविधान संशोधन प्रस्तावलाई थाती राख्न पनि सुझाव दिएका छन् भन्दै उहाँले भन्नुभयो– संशोधन प्रस्तावलाई थाती राखिँदैन, जसरी भए पनि अगाडि बढाइन्छ। हिमाल, पहाड र तराई मधेसलाई एकताबद्ध बनाउने लाइन नै राष्ट्रवादी लाइन हो। राष्ट्र विखण्डन गर्ने आपराधिक लाइनलाई समर्थन गर्न सकिँदैन।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुर्याउने ग्यारेन्टी गरेपछि एमाले संविधान जारी गर्न तयार भएको भन्दै उहाँले भन्नुभयो प्रधानमन्त्रीसँग संविधान साटेको हो। केपी ओलीलाई प्रधानमन्त्री बनाउने ग्यारेन्टी गरेका कारण संविधान जारी भएको हो।

एमाले संविधान खारेज गर्ने उद्देश्यले संविधान संशोधनको विपक्षमा उभिएको आरोप लगाउँदै उहाँले संविधान संशोधन प्रस्ताव फिर्ता नलिने उहाँले बताउनुभयो। माओवादीको एजेन्डा विरुद्ध लाग्दा गणतन्त्र मन नपराउने राजनीतिक शक्तिलाई फाइदा हुने भएकाले प्रतिपक्षी एमालेले देशभर भ्रम फैलाएको आरोप लगाउनुभयो। नेकपा एमालेप्रति निक्कै आक्रामक देखिनुभएका प्रधानमन्त्री प्रचण्डले एमालेले एकैपटक संसद्को निर्वाचन गर्ने भन्नु पनि संविधान खारेज गराउने उद्देश्यले पे्ररित भएको बताउनुभयो।

संविधानमा नै स्थानीय तह र प्रदेशको निर्वाचन गरेर मात्रै संसद्को निर्वाचन गर्न सकिने व्यवस्था रहेको भन्दै स्थानीय तह र प्रदेशको निर्वाचन नगराइ संविधान खारेज गराउने पक्षमा एमाले देखिएको उहाँको आरोप छ। पहिले स्थानीय तहकै निर्वाचन हुनुपर्ने बताउँदै प्रचण्डले राज्य पुनर्संरचना आयोगले अबको दुई⁄तीन दिनमा प्रतिवेदन बुझाउने र त्यसपछि निर्वाचनका लागि सरकारले तयारी गर्ने बताउनुभयो।

स्थानीय तहको निर्वाचन र संविधान संशोधन विधेयक जसरी भए पनि पास गराउने भन्दै उहाँले भन्नुभयो ,तपाईंहरूलाई लाग्या होला, फुत्तै राजीनामा दिन्छ भन्ने तर म संविधान संशोधन र स्थानीय निकायको निर्वाचन नभएसम्म राजीनामा दिन्नँ। तपार्इंहरू ढुक्क हुनुहोस् संसदमा दर्ता भएको विधेयक पारित नगरी म राजीनामा दिन्नँ बरु महिनौं संसद् अवरोध खेप्न तयार छु।

आफ्नो सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेकोप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि अभियानमा रहेको ७ करोड बजेट गाँउमा पठाउन लागि परेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्