रित्तै भए मेडिकल कलेज



ईश्वरराज ढकाल, काठमाडौं
एमबीएस पढ्ने विद्यार्थीले खचाखच हुनुपर्ने यो समयमा मेडिकल कलेजहरूमा विद्यार्थी नपुगेर कन्तबिजोग भएको छ। पोखराको चर्चित गण्डकी मेडिकल कलेजमा अहिलेसम्म एक जना पनि विद्यार्थी भर्ना नभएपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजलाई समस्या पर्ने देखिएको छ। मेडिकल शिक्षा सुधार गर्ने नाममा १०औं पटकसम्म आमरण अनशन बस्नुभएका डा. गोविन्द केसीको अनशनका कारण नेपालको मेडिकल शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्न थालेको त्रिविकै पदाधिकारीको अनुमान छ।

यो बेला भर्ना भएर पढाइ हुनुपर्ने अवस्थामा शून्य विद्यार्थी भएपछि के गर्ने भन्ने विषयमा त्रिवि स्वयं अलमलमा परेको छ। मंसिर १ गतेदेखि पठनपाठन सञ्चालन गर्ने तयारीमा बसेका त्रिविअन्तर्गतका आठवटा मेडिकल कलेजमा विद्यार्थी भर्ना हुन छाडेपछि समस्या परेको छ। किस्ट मेडिकल कलेजका प्रशासन प्रमुख केशव आचार्यले त्रिविले विद्यार्थी भर्नाका लागि ढिलो सूची पठाएका कारण समस्या बढेको बताउनुभयो। उहाँ भन्नुहुन्छ– यही अवस्थाले गर्दा यो वर्ष माघमा पनि पढाइ सञ्चालन हुन सक्ने अवस्था देखिँदैन। प्रवेश परीक्षा दिएका विद्यार्थी भर्ना भएका छैनन्। कसरी पठनपाठन सञ्चालन गर्ने ? नेपालमा भन्दा विदेशमा विद्यार्थीको आकर्षण बढ्न थालेपछि नेपालका मेडिकल कलेजमा गम्भीर समस्या पर्न थालेको छ।

एमबीबीएस र बीडीएस अध्ययन गर्न अधिकांश विद्यार्थी बंगलादेश, फिलिपिन्स र चीन जाने गरेका छन्। त्यहाँ वार्षिक करिब १ हजार ७ सय हाराहारीमा विद्यार्थी अध्ययन गर्न जाने गरेको आचार्यको भनाइ छ। विदेशमा अध्ययन गर्न जान पनि नेपाल मेडिकल काउन्सिलको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। नेपालको मेडिकल शिक्षा विश्वमा नै उत्कृष्ट हुँदा पनि विदेशमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्नुमा चिकित्सा शिक्षा अध्ययन संस्थानको लापरबाही देखिएको छ।

कहिले अनसन त कहिले हड्तालका कारण समस्या परेको त्रिविका अधिकारी बताउँछन्। पछिल्लो तथ्याङ्कअनुसार वर्षेनी करिब १० अर्ब रुपियाँ मेडिकल शिक्षाको नाममा विदेशीने गरेको छ। त्रिविका उपकुलपति प्राडा. तीर्थ खनियाले पठनपाठन राम्रो भए पनि विद्यार्थीहरू भर्ना हुन छाडेको बताउनुभयो। उहाँ भन्नुहुन्छ– चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई नेपालमा हुने गरेको आन्दोलनले बिरक्त बनाएका कारण तोकिएको समयमा विद्यार्थी भर्ना नभएका हुन्।

त्रिविअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंजमा ७६ जनाको सिटमध्ये ६३, किस्ट मेडिकल कलेज ललितपुरमा सिटसंख्या ९९ मध्ये ८, नेसनल मेडिकल कलेज वीरगंजमा १ सय १५ सिटमध्ये हालसम्म २३ , जानकी मेडिकल कलेज जनकपुरमा ८० सिटमध्ये २, चितवन मेडिकल कलेजमा १ सय १५ सिट मध्ये २१, युनिभर्सल कलेज एन्ड मेडिकल साइन्स भैरहवाको सिट संख्या १ सय १५ मध्ये ४९ र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको सिटसंख्या १ सय १५ मध्ये २३ जना भर्ना भएका छन्। बीडीएसतर्फ चितवन मेडिकल कलेजको सिटसंख्या ४० मध्ये ४, एमबी केडियामा ३५ मध्ये ५, पिपुल्स डेन्टल कलेजमा ५० मध्ये १८, युनिभर्सल मेडिकल कलेज भैरहवामा ५० मध्ये १३, किस्टमा ४५ मध्ये ३ जना भर्ना भएका छन्। भर्नाको संख्या हेर्दा एमबीबीएसमा ८ सय १६ सिट मध्ये १ सय २६ र बीडीएसमा २ सय ३५ मध्ये अहिलेसम्म ३२ जना मात्रै भर्ना भएका छन्। अधिकांश विद्यार्थीले ५ वटा मेडिकल कलेजमा फारम भर्ने र उनीहरूको भर्ना गर्ने नाम पाँचवटै कलेजमा पुग्ने समस्याले गर्दा विद्यार्थीको भर्ना हुनेसंख्या घटेको हो। आइओएममा प्रवेश परीक्षामा संलग्न करिब ८ हजार मध्ये ५ हजार ९ सय ९८ जना उत्तीर्ण भएका थिए।

उत्तीर्ण भएका विद्यार्थीमध्ये आइओएमले मेरिट लिस्टको आधारमा भर्नाका लागि कलेजमा सूची पठाउने गरेको छ। हालसम्म यही मंसिर २७ देखि ३० गतेसम्मको लागि चँौथो सूचि पठाइसकिएको छ। त्रिविले यसअघि पहिलो सूचि कात्तिक २२ देखि ३०, दोस्रो मंसिर ३ देखि १० गतेसम्म कायम गरेको थियो। त्रिविको सूचनामा मंसिर १० गतेपछि विदेशी विद्यार्थी भर्ना नलिने गरी सूचना पठाएको थियो। मेडिकल कलेजले ४४ जनाभन्दा बढी विदेशी विद्यार्थी लिन नपाइने निर्देशन दिएको थियो। १० गते दोस्रो सूची पठाएको आइओएम डिन कार्यालयले मंसिर १३ देखि २४ सम्म तेस्रो, २७ देखि ३० सम्म चौथो सूचि पठाएसँगै पुस ५ गतेपछि भर्ना रोक्का गरी ६ गते सूचना जारी गर्न निर्देशन दिएको थियो। डिन कार्यालयले पठाएको सूचिअनुसार विद्यार्थी भर्ना नभएपछि आज पुनः पाचौं सूचि जारी गर्ने तयारी गरेको छ। शून्य विद्यार्थी भर्ना भएका कलेजलाई भर्ना रोक्का गरेरभन्दा गम्भीर असर पुग्ने भएकाले डिन कार्यालयले पुनः सूचना जारी गर्न लागेको हो। गत वर्ष पुस ५ गते अन्तिम भर्ना हुन सूचना जारी गर्दा अधिकांश कलेजमा कोटा पुगेको थियो। तर यो वर्ष अचम्म भयो– अहिलेसम्म कोटाअनुसार त के अधिकांश कलेजमा २५ प्रतिशतसम्म पनि विद्यार्थी भर्ना भएका छैनन् –किस्टका प्रशासन प्रमुख आचार्यले भन्नुभयो।

विद्यार्थी भए पनि भर्ना नभएको इतिहासमा पहिलो घटना हो– त्रिविका उपकुलपति प्राडा. खनियाले भन्नुभयो। मेडिकल शिक्षामा तोकिएको समयमा भर्ना हुन नसक्नु कसको कमजोरी हो भन्ने विषयमा खोजी गर्नु जरुरी रहेको उहाँले बताउनुभयो। तर उहाँले भन्नुभयो– समय छ विद्यार्थी भर्ना त होलान् नै। मेडिकल शिक्षामा निजी मेडिकल कलेजले मनोमानी शुल्क उठाउने र पठनपाठनमा विश्वसनीयतामा कमी आउन थालेपछि नेपालका कलेजमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको हो।

प्रतिक्रिया दिनुहोस्