सातौं राष्ट्रिय खेलकुदको तयारी पूरा



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी पूर्वाञ्चलका विभिन्न जिल्लामा पुस ८ देखि १५ सम्म आयोजना हुने सातौं राष्ट्रिय खेलकुदको तयारी पूरा भएको जनाएको हो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको र अव कुनै पनि खेल र खेलस्थान परिवर्तन नहुनेसमेत प्रष्ट पारे। सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये ३१ खेलको मात्रै पदक गणना हुनेछ।

स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङलगायत चार खेलको न्यूनतम टिम नपुगेको परिषद्ले यसअघि नै बताइसकेको छ। त्यस्तै तीन खेलहरू अघिल्लो वर्ष नै सम्पन्न भइसकेका छन्। स्वीमिङ, शारीरिक सुगठन, ट्रायथलन, एथ्लेटिक्सको म्याराथन यसअघि नै भइसकेका छन्।प्रतियोगिताका धेरैजसो खेलहरू सुनसरी, झापा र मोरङमा आयोजना हुनेछन्। सिराहा, सप्तरी, इलाम, उदयपुर, धनकुटा, ललितपुर र काठमाडौंमा पनि केही खेलहरू खेलाइनेछन्।

सातौं राष्ट्रिय खेलकुदका लागि ३ हजार ९ सय ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। १७ सय ५३ पुरुष र ११ सय ६१ महिला खेलाडीहरू छनौटमार्फत सहभागी हुनेछन् भने ५ सय ५० पुरुष र ५ सय ८ महिला खेलाडीहरू प्रत्यक्ष सहभागी हुने राखेपले जानकारी दिएको छ।

प्रतियोगितामा २ सय ६८ स्वर्ण २ सय ६८ रजत र ४ सय १६ कास्य पदक गरी कुल ९ सय ५२ पदकका लागि प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्रीय छनौट चरणका खेल सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

पत्रकार सम्मेलनमा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ खेललाइ सातौंमा समावेश गरेको छ। थप गरिएका चार खेलमध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेको हो।

राखेप सदस्य सचिव विष्टले सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न पर्याप्त बजेट निकासा नभएको बताए। उनले प्रतियोगिता सम्पन्न गर्न अर्थ मन्त्रालयले ८ करोड मात्र निकासा गरेको जानकारी दिए। उनले प्रतियोगिता सम्पन्न गर्न २३ करोडको लागतको अनुमान गरिएकोमा खेल संख्या बढेको र अन्य कारणले लागतमा वृद्धि हुन गई २८ करोड पुगेको बताए। प्रतियोगिताको उद्घाटन विराटनगरको शहीद रंगशालामा तथा समापन धरानस्थित अखिल नेपाल फुटबल संघको खेल मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्