चीनले कब्जा गरेको ड्रोन उसले राखोस्ः ट्रम्प



वासिङ्टन, (एजेन्सी)

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई उसले कब्जामा लिएको ड्रोन उसँगै राखोस् भन्ने प्रतिक्रिया दिएका छन्। यसअघि अमेरिकी रक्षा विभाग पेन्टागनको तर्फबाट चीन उक्त समुद्री ड्रोन अमेरिकालाई फर्काउन तयार भएको बताइएको थियो।

ट्रम्पले भने– हामी चीनलाई भन्न चाहन्छौं कि हामी उक्त ड्रोनलाई फिर्ता लिन चाहन्नौं जुन उसले चोरेको हो। त्यसलाई उ आफैसँग राखोस्। ट्रम्पले चीनमाथि चोरीको आरोप लगाएको छ। उनले ट्विटमा अन्तर्राष्ट्रिय जल सीमामा चीनले अमेरिकी नौसेनाको रिसर्च ड्रोन चोरेको आरोप लगाए। उनीहरूले त्यसलाई पानीबाट निकाले र चीनले लिएर गए। यस्तो पहिला कहिल्यै भएको थिएन –उनले लेखेको छ।

यद्यपि पेन्टागनले बिहीबार दक्षिण चीन सागरमा जफत गरिएको ड्रोन फर्काउन चीनसँग सहमति बनेको जनाएको थियो। पेन्टागनका प्रवक्ता पिटर कुकले शनिबार जानकारी दिए– चीनले अमेरिकाको युयुवी (मानवरहित समुद्री पनडुब्बी) फर्काउँछ भन्ने विषयमा चीन प्रशासनसँग सिधै सम्पर्क गरी हामीले यो सुनिश्चित गरेका छौं।

यसअघि चीनको रक्षा मन्त्रालयले अमेरिकाको प्रतिक्रियाको आलोचना गरेका थिए। चीनले अमेरिकामाथि यस मामिलालाई बढाइचढाई गरेको आरोप लगाएको थियो। चीनले अमेरिकासँग चीनको समुद्रमा जासुसी कार्य गर्न बन्द गर्न भनेको छ।
चीनको तर्फबाट जारी गरिएको उक्त बयान अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमा प्रतिक्रिया दिएपछि आएको हो।

दक्षिण चीन सागरमा चीनको नौसेनाले फिलिपिन्सको तट नजिकै अमेरिकाको एउटा ड्रोन आफ्नो नियन्त्रणमा लिएको थियो। अमेरिकी अधिकारीहरूले समुद्रमा सर्वेक्षण गर्ने जहाज यूएसएनएस बोडिच ले ड्रोन पनडुब्बी निकाल्न लागेकै बेला चीनले जफत गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्