मेगा बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता



नेपाल समाचारपत्र
काठमाडौं
मेगा बैंक नेपाल र बुम रेमिट्यान्स बीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ। मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बिहीबार रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। यो सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन्। यसैगरी, बुम रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ।

बुम रेमिटसँगको साझेदारीपछि विशेषगरी माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ। माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको बुम रेमिटले छिट्टै मलेसिया, दक्षिण कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोबार शुरू गर्ने जनाएको छ। बुम रेमिटबाट पठाएको रकम मेगा बैंकको देशभरका ३९ वटा शाखा कार्यालय एवम् १४ सय एजेन्टबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्