संशोधन प्रस्ताव समझदारीबाटै परिमार्जन हुन्छः प्रधानमन्त्री



धन बस्नेत

पोखरा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूबीच समझदारी गरेर संविधान संशोधनको प्रस्ताव परिमार्जन गर्न सकिने बताउनुभएको छ । संसदमा संविधान संशोधन प्रस्ताव पेश भइसकेको छ । अब कुनै पनि हालतमा प्रश्ताव फिर्ता हुँदैन ।’ प्रधानमन्त्रीले पोखरामा शुक्रबार सञ्चारकर्मीहरूमाझ कुराकानी गर्दै भन्नुभयो —‘बरु सवैसँग समझदारी गरी परिमार्जन गर्नतिर लागौं ।’

संविधान संशोधनसँगै सिमांकन विषयमा भएको प्रस्तावको विरोधमा प्रतिपक्ष लागेको भन्दै संसद अवरुद्ध नगरी छलफलबाट प्रस्ताव परिमार्जन गर्नेतर्फ अगाडि बढ्न आग्रह गर्नुभयो । संसदमै संशोधन प्रस्ताव विधेयक, महाभियोग एवं निर्वाचनको विषयलाई प्याकेजमै समझदारी गरी सल्टाउन जरुरी छ ।’ प्रधानमन्त्री दाहालले पत्रकारसँग भन्नुभयो —‘त्यसको लागि अबरुद्ध नगरी संसदबाटै कुरा गरौं । प्याकेज मै समझदारी बनाउनेतर्फ अगाडि बढौं, संसदमा आउनुहोस्, सडकमा होइन । यो विषय संसदबाटै छलफल गरेर टुग्याउनुपर्छ । संसदबाटै टुग्याऊँ ।’
पाँच नम्बर प्रदेशको सिमांकनको प्रस्ताव प्रतिपक्षले अघि सार्दा ठीक र अहिले बेठीक भन्नै नहुने भन्दै प्रतिपक्षले त्यसको विरोध गर्नु औचित्यसिद्ध नहुने जीकिर समेत प्रधानमन्त्रीले गर्नुभयो । हिजो एमाले (आफू) ले प्रस्ताव संविधान संशोधन गर्ने प्रस्ताव गर्दा राष्ट्रवाद हुने र माओवादी केन्द्रको मन्त्री परिषद्को नेतृत्व सरकारले प्रस्ताव गर्दा बेठीक भन्ने ?’ उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो —‘यो त सरकार र ममाथिको अन्याय भएको ठानेको छु ।’
प्रधानमन्त्री दाहालले चुनाव गर्न सरकार दृढ र प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । यसबारेमा केही प्रक्रियागत रुपमा ढिलो हुने पनि स्पष्ट पार्नुभयो । ‘चुनाव हुन्छ । तर अलि ढिलो हुन्छ । बैशाखसम्म नभएर जेठसम्म पनि जान सक्छ ।’ चुनावको लागि कुनै पनि दलको विमति नभएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो—‘मधेसवादी दलपनि चुनावको लागि सहमतिमा जानेछन् ।’ राजनीतिक दलहरू बीच समझदारी बनाएर मात्रै छिट्टै निर्वाचनको घोषणा गरिने उहाँको भनाइ थियो । आवश्यक विषय संशोधन गरी सम्बोधन गर्दै मधेशलाई विश्वासमा लिएर चुनावको घोषणा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति थियो ।
पुर्नसंरचना आयोगले दिएको प्रतिवेदन अनुसार स्थानीय निकायको चुनाव भनेर नहुने स्पष्ट पार्नुभयो । चुनाव स्थानीय निकायको हुँदैन, तहको हुन्छ ।’ उहाँले अगाडि भन्नुभयो—‘स्थानीय निकायलाई तह बनाउने विषयमा दलहरु बीच छलफल भइरहेको छ । निष्कर्षमा पुगिएको भने छैन ।’ स्थानीय तहको निर्वाचनपछि प्रदेश र केन्द्रको निर्वाचन एकै पटकमा गर्नुपर्ने हुनसक्छ ।
संविधान कार्यान्वयन अहिलेको चुनौति र सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै प्रधानमन्त्री दाहालले चुनावबाटै संविधान कार्यान्वयन हुने पनि बताउनुभयो । ‘कार्यान्वयको प्रक्रिया संविधान घोषणा भएको दिनदेखि शुरु भएको हो । त्यसको आधारभूत सुनिश्चिता निर्वाचनसँग जोडिएको छ ।’ उहाँले पुनः दोह¥याउनुभयो —‘त्यसैले पहिलो स्थानीय तह अनि प्रदेश र केन्द्रको निर्वाचन हुन्छ ।’
उहाँले अर्को प्रसङ्गमा संघीयता, लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन भइरहेको प्रयासलाई मूर्खता र दुस्साहसको संज्ञा दिनुभएको छ । ‘संघीयता उल्ट्याउने प्रयास गरेर हुँदैन्, गणतन्त्र, धर्म निरपेक्षता लगायतका वियषमा जनताले आन्दोलनबाट ल्याएको उपलब्धी सबै उल्टिन्छ ।’ उहाँले भन्नुभयो ‘त्यसले त झन् देश द्वन्द्वको भूमरीमा जान्छ । यो त गणतन्त्र र संघीयता विरोधी आन्दोलन हुनेछ ।’
प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भुषालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
प्रधानमन्त्री दाहालले पोखरा शहीद चोकस्थित शहीदको प्रतिमामा माल्यार्पण समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्