गाउँलेलाई झुक्याएर लाखौं रकम संकलन



नवीन श्रेष्ठ, सिन्धुली
ल्ला प्रहरी कार्यालय सिन्धुलीले जटिल प्रकृतिको उजुरी नै नलिने गरेको पीडितहरूको गुनासो रहेको छ। निपाने गाविसका किशोरीलाई जागिर लगाइदिने भन्दै मध्यराति धनुषा बोलाएर बेचबिखन गर्ने प्रयास गरिएको घटनालाई स्थानीय पीडितले अभियुक्त रामवली कुरमका विरुद्ध चेलिबेटी बेचबिखन मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडित शारदा पहाडीले बताउनुभयो।

शिक्षा स्वास्थ्यलगायतका विपन्न वर्गका परिवारलाई खाद्यान्न राहत उपलब्ध गराउने भन्दै कात्तिक ७ गतेबाट १६ जना किशोरीलाई काम गाविसका विपन्न परिवारको तथ्यांक संकलन तथा नाम दर्ताका लागि प्रतिपरिवार १ हजारका दरले रकम संकलन गर्न लगाएको शारदा पहाडीले बताउनुभयो। पछि राम्रो काम गरेको भन्दै शारदा पहाडी, अमृता थारू, ममता अधिकारी, बबिता अधिकारी र अर्का एक किशोरीलाई संस्थाको केन्द्रीय कार्यालय भैरहवा रूपन्देहीमा उपमहानिर्देशक पदमा ५४ हजार तलब दिने भन्दै २६ गते राति १० बजे किशोरी मात्र आउनु भन्दै गाडीको व्यवस्था गरिएको थियो।

स्थानीयको पसलबाट चामल खरिद गरेको पैसा पनि नदिएको र दुई ओटा गाडी १२⁄१२ दिन चलाएको पैसा पनि नदिई किशोरीलाई मात्र धनुषा बोलाएपछि शंका लागेर गाडीका साहु सूर्य श्रेष्ठ आफैं, स्थानीय व्यापारी हरि रमौली मगर, किशोरीका आफन्त इन्द्रबहादुर लुम्रे मगर र मदन अधिकारीसहित किशोरीहरूसँग धनुषा पुग्दा अभियुक्त रामवली कुमर भाग्न थालेपछि समातेर ल्याएर २७ गते इलाका प्रहरी कार्यालय डकाहामा बुझाएको पीडित शारदा पहाडीले बताउनुभयो।

‘पुरुष कोही पनि नआउनु गाडीको पनि साहु नआउनु नयाँ ड्राइभर लिएर आउनु भनेपछि शंका लागेर हामीले आफन्त लिएर गएकाले हामी बच्न सफल भयौं तर प्रहरीले हाम्रो उजुरी लिन मानेन, हामीले २७ गते इलाका प्रहरी कार्यालयमा बुझाएको अभियुक्त २९ गते सिन्धुली पठाइयो र हामीले ठगी तथा चेलिबेटी बेचबिखनको मुद्दा हाल्न खोज्दा ठगीको मुद्दा मात्र लेखाएर ल्याउनुस् भन्दै फकाईयो’ –पीडित पहाडीले बताउनुभयो।

‘कात्तिक ७ गतेबाट काम लगाएर मंसिरको १५⁄१६ सम्म पनि तलब नदिई थप ५ सय ६१ जना कर्मचारी माग गरेपछि र राहतस्वरूप पहिलो लटमा उपलब्ध गराएको चामलको पैसा समेत नदिएपछि शंखा लागेको र फेरि केन्द्रीय कार्यालयमा काम गर्नु भन्दै राति राति धनुषा आउनु भनेपछि ठग तथा चेलिबेटी बेच्ने मान्छे भनेर पक्का भएको पहाडीले भन्नुभयो।

यता प्रहरीले सामान्य ठगी मुद्दा मात्र दर्ता गर्न लगाएर दोषीलाई उम्काउन खोजिरहेको पीडित पहाडीले बताउनुभयो भने चेलिबेटी बेचबिखनको कुनै पनि घटना नघटाएको र ठगी मात्र गरेको जिल्ला प्रहरी कार्यालयको जिकिर छ। ‘घटनाक्रम हेर्दा योजनाबद्ध ठगी गरिरहेको र चेलिबेटी बेचबिखन नदेखिएकाले ठगीको मुद्दा मात्र दर्ता गर्न भनेका हौं’ –जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाल सर्वश्रीबहादुर सिं ठकुरीले भन्नुभयो। उहाँले भन्नुभयो– ‘हुँदै नभएको झूटो मुद्दा कसरी दर्ता गर्नु?’

सरस्वती सेभिङ ट्रेडिङ सेन्टर भैरहवा नामक संस्थाको संयोजक हुँ र यस संस्थाले १० धुरभन्दा कम जग्गा जमिन हुने विपन्न वर्गका मानिसलाई आयआर्जनका लागि सीपमूलक तालिम र महिनामा एक बोरा चामल दिने भन्दै प्रत्येक घरबाट १⁄१ हजार संकलन गरेको स्थानीय सूर्यमुखी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अञ्जु कुमरले जानकारी दिनुभयो। संस्थाको लागि ५ सय ६१ जना कर्मचारी आवश्यक रहेको भन्दै कर्मचारीका लागि अवेदन दिन १ हजार र विपन्न घर नाम दर्ताका लागि १ हजार गाउँका विपन्न महिला तथा किशोरीबाट संकलन गरी झन्डै ६ लाख १२ हजार रकम संकलन गरेको अध्यक्ष अञ्जु कुमरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्