इजरायली कृषि प्रणालीबाट सिक्नुपर्ने पाठ



(ढुनबहादुर बुढाथोकी ‘सङ्घर्ष’) समृद्धिपूर्व इजरायल मध्यपूर्वको मरुभूमिको रुपमा चिनिथ्यो । जमिनको उपयोग हुन सकेको थिएन । मरुभूमिका कारण खाद्य तथा जलसुरक्षा अहम् सवालहरू थिए । सन् १९४८ को स्वतन्त्रतापश्चात् कृषिक्षेत्रमा कायापलट शुरुवात भयो । कृषिक्षेत्रलाई यान्त्रीकरण गरियो । उन्नत मल, बीउ र प्रविधि उपयोग गरियो । रासायनिक मलको प्रयोगले व्यापकता पायो । भूमिको वैज्ञानिक व्यवस्थापन भयो । सिंचाइका लागि अनेक विकल्पहरू पहिल्याइए । कृषिक्षेत्रको सबलीकरणले उत्पादनमूलक र सेवाक्षेत्रसमेत सबल बन्न पुग्यो । कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान सन् १९९७ ताका ६ प्रतिशत रहेकोमा सन् २०१५ मा २.५ प्रतिशतमा झर्यो । थोरै श्रमशक्तिले कृषिक्षेत्रलाई हाँक्न सक्यो ।

इजरायलको कृषि वास्तवमै अनुकरण गर्न लायक छ । कृषिक्षेत्रमा अनेक टर्न की प्रोजेक्टहरू अगाडि सारिएका छन् । तरकारी उत्पादनका लागि टनेलहरू निर्माण गरिएका छन । टमाटरको सानो उदाहरण लिने हो भने हरितगृहमा प्रतिहेक्टर ३ सय टन टमाटर वर्षमा ४ पटक उत्पादन भइरहेको छ । पशुपालनका लागि अत्याधुनिक फार्म र वैज्ञानिक प्रविधि अपनाइएको छ । सन् १९५० यता डेरी उत्पादन अढाइ गुणाले वृद्धि भएको छ । प्रतिगाई वार्षिक ३ हजार ९ यस लिटर दुध उत्पादन हुने गरेकोमा हाल १२ हजार ५ सय लिटर पुगेको छ । डेरी फार्मलाई दिगो र प्रदूषणरहित बनाइएको छ । पोल्ट्री फार्मकै कुरा गर्ने हो भने अण्डा संकलनका लागि मेसिनको प्रयोग भइरहेको छ । दाना, ताप, प्रकाश, आद्रता, कायम व्यवस्थापन गर्न सोफ्टिकेटेड प्रविधि अवलम्बन गरिएको छ ।

खुला समुद्र र मानवनिर्मित तलाउमा वैज्ञानिक ढंगबाट मत्स्यपालन गरिएको छ ।
इजरायल कृषिक्षेत्रको मोडल मुलुक हो । बर्सेनि १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कृषि तथा कृषिजन्य उत्पादन विश्वभर निर्यात भइरहेको छ । नेपाल प्राकृतिकरुपमा उर्वर भूमि हो भने इजरायल मेहनत, प्रयास र लगनद्वारा उर्वर बनाइएको हो । इजरायली २ प्रतिशत जनसंख्याले बाँकी ९८ प्रतिशत जनसंख्या पालेका मात्र छैनन्, कृषिउपज विश्वभर निर्यात गर्न सक्षम छन् । जबकि नेपालमा ६६ प्रतिशत जनसंख्या कृषिक्षेत्रमा भईकन पनि वार्षिक १ खर्ब अधिकको कृषिजन्य पदार्थ आयात भइरहेको छ । इजरायलमा भूमिलाई चक्लाबन्दी गरिएको छ । तर प्लटिङका कारण हम्रो कृषिभूमि घट्दो छ । इजरायलमा कृषि पेसालाई सम्मान गरिन्छ भने नेपालमा यो पेसा हेयपूर्ण छ । त्यसैले नेपालको कृषिक्षेत्र दारुण बनेको हो ।

यी सफलताका पछाडि निश्चित कारक तत्वहरू छन् । कृषिक्षेत्रलाई नीति–नियममा बाँध्नु, सामूहिकता र सहकारीको सिद्धान्त अवलम्बन गर्नु, कृषिक्षेत्रको खोज–अनुसन्धानलाई चुस्त बनाउनु, भूमि चक्लाबन्दी गर्नु, लिजमा लिई कृषि उत्पादन गर्नु, उन्नत बीउको प्रयोग गर्नु, पानी प्रशोधन गरी उपयोगमा ल्याउनु, माटोको क्षमता ह्रास हुन नदिनु, परम्परागत कृषि बालीको संरक्षण गर्नु, कृषिक्षेत्रमा वित्तीय उत्प्रेरणा उपलब्ध गराउनु, कृषिक्षेत्रलाई यान्त्रीकरण गर्नु, कृषिक्षेत्रको पूर्वाधार विकासमा अनुदान उपलब्ध गराउनु आदि कृषिक्षेत्रको सफलताको चुरो हो ।

हाम्रो सन्दर्भमा सिंचाइ, यान्त्रीकरण, कृषिफार्म, भ्यालु एडिसन, सहकारी खेती, अर्गानिक खेती, चक्लाबन्दी टड्कारा सवालहरू हुन् । यहाँको वाग्मतीको पानी प्रशोधन गरी बहुआयमिक उपयोग गर्न सक्नुपर्छ । तराईमा नहरका साथै डिप इरिगेसनलमार्फत सिंचाइ गराउनुपर्छ । कृषि कर्म मानिसले होइन प्रविधिद्वारा गराइनुपर्छ । लाखौंको सवारीसाधन भित्र्याउन सक्नेले १२ लाख पर्ने रोपाइँ गर्ने यन्त्र भित्र्याउन लर्खराउनुहुँदैन ।

आ.व. ०७३⁄७४ को बजेटमा बल्क, जोन, सुपर जोनको अवधारणा अगाडि सारिएको छ । त्यो आफैंमा सुन्दर अवधारण हो । तर उक्त अवधारणा कागजी वस्तु बन्नुहुँदैन । अहिलेसम्म कृषिजन्य कोरा वस्तु मात्र निर्यात गरिएको छ । कोरा वस्तु निर्यात गर्नुको अलावा भ्यालु एडिसन गर्दा अधिक लाभ हुन्छ । यसका निमित्त एग्रो प्रोसेसिङ उद्योग प्रवद्र्धन गर्नुपर्छ । सामूहिक तथा सहकारी कृषि प्रणाली प्रयोगमा ल्याउन सकिएको छैन । यसका निमित्त राज्यले आकर्षक कार्यक्रम अगाडि सार्नुपर्छ । कृषिभूमि एकीकरण, चक्ला बन्दी, कृषिभूमिको वर्गीकरण ठोसरुपमा हुन सकेको छैन । प्लटिङ गरी कृषिभूमि नष्ट गर्ने हर्कत यथाशीघ्र रोक्नुपर्छ । उन्नत बीउको प्रयोगले १५–२० प्रतिशत उत्पादन वृद्धि हुने विज्ञहरूको ठम्याइ छ । तर अहिले पनि ग्रामीण इलाकामा रैथाने बीउ प्रयोग भइरहेको छ । यसर्थ हाइब्रिड बीउको प्रयोगलाई अभियानको रुपमा अगाडि बढाउनुपर्छ ।

अहिले विश्वभर अर्गानिक उत्पादनको माग उच्च छ । नेपाल अर्गानिक खेतीको लागि सुयोग्य थलो हो । यसर्थ पहाडी क्षेत्रमा अर्गानिक खेतीलाई बढवा दिन किमार्थ चुक्नुहुँदैन । नेपालबाट कृषि वैज्ञानिक र युवा जनशक्ति पलायन हुनु लज्जाको कुरा हो । मुलुकमा उत्पादित कृषि वैज्ञानिक र दरिला पाखुरालाई मुलुकमै रोक्ने गरी अवसरहरू पैदा गर्नुपर्छ । नेपालमा यी सबै कार्यका लागि इजरायलले प्रशस्त गरेको मार्ग अनुकरणीय हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्