वैचारिक अंशवण्डाको मारमा कांग्रेस



(रामप्रसाद गौतम) मानिस निदाएको छ र उसलाई घच्घच्याउँदा पनि उठेन भने हल्का पानी छम्कने प्रचलन छ तर कुनै पार्टी निदायो भने के छर्कने र कसले छर्कने भन्ने कुराले बडो असामञ्जस्यमा पार्ने रहेछ आमजनतालाई । हाल कांग्रेसमा यही भैरहेको छ । पार्टी वैचारिक, मुद्दागत र जनजीविकाको प्रश्नमा निदाएको छ । कहीँ–कतै कांग्रेसमा शक्तिशाली नेताहरूको चाकडी–चाप्लुसीबाहेक समग्र देशलाई हल्लाउने किसिमको कुनै विचार आएको सुनिदैन । कुनै नेता बोलिहाल्यो भने पनि आफ्नो, आफ्नो गुट र नमिलेका पदको असन्तुष्टिबाहेक बोलेको सुनिदैन । देशको सबैभन्दा ठूलो पार्टीको आवाज डायनोसरझैँ बिलाउँदै गएको छ । आखिर किन निदायो त कांग्रेस ? एउटा जीवन्त पार्टीमा सानातिना सयौं मतभेद हुन्छन्, अनेक गुट–उपगुट हुन्छन् तर दूरदृष्टि, मिसन र उद्देश्य एउटै हुन्छ ।

आज पार्टीमा एकातिर सम्पूर्ण पद ओगटेर आफ्नो पक्ष बलियो बनाउने मूर्दा उल्लास कम्मर मर्काई–मर्काई नाचिरहेको छ र अर्को पक्ष सबै शक्ति आफ्नो हातबाट फुस्किसक्यो भन्ने त्रासले चेतनागत हर्ट एट्याक भएझैँ फटफटाइरहेको छ । राजनीति यस्तो युद्ध हो, जहाँ विचारलाई गोलीगठ्ठा लिएर संघर्षको मैदानमा नउतारेसम्म पदीय रुपमा जो, जहाँ, जुन उचाइमा पुगे पनि विजयी भएको मानिदैन । विचार, सिद्धान्त र कर्मले संसार परिवर्तन गर्दछ तर पदले घमण्ड मात्र सिर्जना गर्दछ । कांग्रेस जनजीवनमा भिजेको व्यावहारिक पार्टी बन्ने वा घमण्डले फुलेको गतिहीन हिप्पोपोटामस बन्ने ? प्रशंसाका भोकाहरूले सधैँ चाकडी, चाप्लुसी, समर्थन मात्र खोजेर जनतालाई निराश पारिरहेका त छैनन् ? पार्टीलाई जीवन्त बनाउन र अधिकांश जनताको हित हुन्छ भने कांग्रेसले व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिन सक्नुपर्छ ।

कांग्रेसमा निम्नलिखित चुनौतीहरू आज पनि ज्यूँका त्यूँ छन् । तिनलाई सामना गर्न सक्नुपर्छ । सिद्धान्तको भागवण्डीकरणः कांग्रेसलाई जीवन्त राख्ने मूल आधार बीपीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवाद थियो । यस प्रकृतिको राजनीतिक विरासतको एकलौटी स्वामित्व लामो समयसम्म कांग्रेसको जिउनी नै थियो । तर यसमा शाब्दिक जलप लगाएर मदन भण्डारीले सम्पूर्ण नीति जनताको बहुदलीय जनवादको नाममा एमालेभित्र प्रवेश गराएपछि कांग्रेसी सिद्धान्तमा छुट्टै घरवार भएकी सौताको जन्म भयो । उद्देश्यमा केही तल–माथि भए पनि चुनावी प्रक्रियामा जाँदा लगभग प्रजातान्त्रिक समाजवादकै नारामा एमाले पनि जनतासामु भोट माग्न जान्छ र कांग्रेसका भोट घटाइदिन्छ । पार्टी क्याडरको बैठकभित्र जतिसुकै चर्का, टर्रा, अमिला क्रान्तिकारी नारा लगाइए पनि चुनावमा दुवै कम्युनिस्ट पार्टी कांग्रेसकै जस्ता सिद्धान्तका नारा बोकेर अगाडि बढ्छन् । यसरी सिद्धान्तको भागवण्डीकरणले कांग्रेसको जनाधार खण्डित हुँदै गएको छ । यो कांग्रेसको प्रमुख चुनौती हो ।

शिशा फुटेजस्तो गुट विभाजनः जीवन्त पार्टीमा गुट त हुन्छ तर त्यो खेतमा धान झाँट्न र दाइँ गर्नका लागि बनाइएको खलो चर्केजस्तो सतही हुनुपर्नेमा शिशा फुटेजस्तो गुट बन्नु पार्टीको अर्को समस्या हो । पदाधिकारीमा फुट आए पनि, गुट बने पनि मतदातामा समेत खाल्डो देखिने गरी गुट बन्नु घातक हो । समाधानको प्रयास नगर्नु, मिलनका विन्दुहरू नखोज्नु र अन्य उपगुट–अल्पगुट बन्दै जानु पार्टीका लागि ज्यादै चिन्ताको विषय हो । आफू जुन हाँगामा झुन्डिएको छ त्यो हाँगा कमजोर भए अथवा त्यो ढले आफू पनि ढलिन्छ भन्ने ख्याल शायद कांग्रेसमा हराइरहेको छ, जुन पार्टीका लागि ठूलो चुनौती हो ।

अभियानसहित घरदैलोमा जान अल्छीः पार्टीले कार्यकर्तालाई उत्साहित पार्न समय–समयमा नयाँ–नयाँ नारा दिनुका साथै जनतालाई फाइदा पुग्ने अभियानहरू लिएर घरदैलोमा पुग्नुपर्नेमा राजधानी बसेर ढलिमली गर्नु कांग्रेसको अर्को चुनौती हो । केही विषयलाई लिएर भए पनि गाउँ–टोलमा पार्टी पुग्न सक्नुपथ्र्यो । लामो समयदेखि कांग्रेस कार्यक्रमहीन बनेको छ । यसबाट पनि पार्टी जनतामाझ टाढिन पुगेको छ ।

मुद्दा उठान र सहमत गराउन नसक्नुः जनआन्दोलन सफल पारेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि कांग्रेसले आफूले कुनै मुद्दा उठान गर्न सकेको छैन । कुनै विषयमा अरु पार्टीलाई सहमत गराउन पनि सकेको छैन । अंगीकृतको सवाल, सिमांकनको सवाल, संविधान कार्यान्वयनको सवाल र अन्य निर्माणाधीन ऐन–नियमको सवालमा पार्टीले पूर्ण अध्ययन र तयारीसाथ जनपक्षीय मुद्दाहरू उठान र अडानको रणनीति अवलम्बन गरेर अगाडि बढ्न आवश्यक छ ।
बौद्धिकताको बन्ध्याकरणः बौद्धिक वर्गलाई पनि गुटको आँखाले हेरिएको छ । जबकि मानिसको दिमाग, ऊखुको रस, कपासको न्यानोपन जुन गुटको भए पनि उपयोगी हुन्छ भन्ने कुरालाई पार्टीले सोच्न सकेको छैन । यसले पार्टीको अस्तित्वलाई दीर्घकालीन रुपमा घाटा पुर्याइरहेको छ ।

ज्ञान व्यवस्थापनको अभावः पार्टी कार्यालयलाई ज्ञान व्यवस्थापनको केन्द्रको रुपमा विकसित गर्दै नवचेतना र सामाजिक आवश्यकता तथा तिनको समाधानको सम्बन्धमा नयाँ तरिकाहरू विकास गर्नुपर्नेमा सम्पूर्ण पार्टीको नेतृत्वपंक्ति पद पाउन र मञ्चमा बसेर खादा ओढ्ने काममा मख्ख परिरहेको छ । पार्टी विस्तारको लागि सिक्ने र सिकाउने प्रणाली शून्य प्रायः छ । एक झिल्को आगोले लंका जलाइदिन्छ र एक थोपा पानीले जीवन बचाइदिन्छ । यसबारे पार्टी सचेत हुनसकेको छैन । परिवर्तित समयअनुरुप नेतृत्वको सोच परिवर्तन हुनसकेको छैन । पार्टी त्यतातिर लागोस् ।

प्रतिक्रिया दिनुहोस्