नेपाली खेलाडीको यात्रा समाप्त



नेपाल समाचारपत्र
काठमाडौं
नेपालमै आयोजित भएको नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीले पराजय बेहोरेका छन्। बिहीबार विभिन्न स्पर्धामा नेपाली खेलाडीको पराजयसंगै नेपाली खेलाडीको यात्रा क्वाटरफाइनलसम्म मात्रै रह्यो। विभिन्न ९ राष्ट्रका खेलाडी सहभागी प्रतियोगितामा नेपालका २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष⁄महिला सिंगल्स र डबल्स तथा मिक्समा गरी प्रतियोगितामा ५ स्पर्धा समावेश छ। पाँचै स्पर्धामा नेपालको सहभागिता रहेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष सिंगल्स क्वाटरफाइनलमा नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ पराजित भए। उनलाई भारतका सिद्धार्थ ठाकुरले २१–१८ र २१–१७ ले हराएका थिए। त्यस्तै महिला सिंगल्समा नेपालकी शिक्षा श्रेष्ठ पनि अन्तिम आठ भन्दा माथि पुग्न सकिनन्। उनलाई भियतनामकी थुई लीन नुयेनले २१–६, २१–१२ ले हराइन्। त्यस्तै नेपालकी मेघा चन्द पनि भियतनामकी थी फुङ थुई त्राणसँग २१–८, २१–७ ले हारिन्।

यसैगरी डबल्स क्वाटरफाइनलमा समेत नेपाली खेलाडीले सोझो सेटमा हार बेहोरेका छन्। नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडी पाकिस्तानका रिज्वान अजाम र सुलेहरी कासिफ अलीको जोडीसँग २१–१६ र २१–१८ ले हार्यो। त्यस्तै महिला डबल्समा भारतकी जक्कम्पुडी मेघना र पुर्भिसा एस. रामको जोडीसँग नेपालकी पूजा श्रेष्ठ र नङशल तामाङको जोडी २१–७ र २१–५ ले पराजित भयो। अर्को खेलमा बंगलादेशका अक्तर साप्ला र एलिना सुल्तानको जोडीले नेपालका शोभा गौचन र अनुमाया राईको जोडीलाई २१–७ र २१–१३ ले पन्छाएको थियो।

मिक्स डबल्सको क्वाटरफाइनल खेलमा भारतका सौरभ शर्मा र अनौष्का पारेखको जोडीले तामाङ दिदी भाइ रत्नजित र नङशलको जोडीलाई २१–१३, १९–२१ र २१–१० ले हरायो। बंगलादेशका मोहम्मद सलमान खान र एलिना सुल्तानाको जोडीले नेपालका विष्णु कट्वाल र अमिता गिरीको जोडीलाई २१–१२ र २१–१४ तथा भारतका वेन्कट गौरव प्रसाद र जुही देवागनको जोडीले नेपालका विजित थापामगर र शिक्षा श्रेष्ठको जोडीलाई २१–८ र २१–११ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे।

प्रतिक्रिया दिनुहोस्