मेगा बैंक र बुम रेमिटबीच सम्झौता



काठमाडौं, मेगा बैंक नेपाल लिमिटेड र बुम रेमिट्यान्स प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।

मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बिहीबार रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यो सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, बुम रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ ।

बुम रेमिटसँगको साझेदारीपछि विशेषगरि माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको बुम रेमिटले छिट्टै मलेसिया, दक्षिण कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने उल्लेख छ ।

बुम रेमिटबाट पठाएको रकम मेगा बैंकको देशभरका ३९ वटा शाखा कार्यालय एवं देशभरि छरिएका १४ सय एजेन्टबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्