हामी फेरि आयौं !



विश्व पत्रकारिता अहिले अनलाइनतर्फ गइरहेको छ । पाठकले अनलाइन पत्रकारितालाई जानेर होस् या नजानेर अनिवार्य कित्तामा राखिसकेका छन् । अब यसलाई चाहेर पनि कसैले कित्ताकाट गर्न सक्ने अवस्था छैन । त्यसो त यो अनलाइनलाई हतारको पत्रकारिता पनि भन्न थालिएको छ । हतारको काम लतरपतर पनि हुन सक्छ । लतरपतर भएपनि हतारको पत्रकारितामा छुट्टै मजा पनि हुन्छ । तर, त्यसो भन्दैमा हामी यो मजाको नाममा गैर जिम्मेवार भएर पत्रकारिता भने गर्ने छैनौं । हाम्रा लाखौं पाठकहरू समक्ष हामीले कमाएको सम्पत्ति भनेकै विश्वसनीयता हो । झण्डै साढे तीनदशक लामो इतिहास बनाइसकेको कामना प्रकाशनले अहिलेसम्म कमाएको सम्पत्ति भनेकै पाठकको विश्वास हो । हतारको नाममा यो विश्वासलाई गुमाउने काम हामी कदापी गर्ने छैनौं ।
हामीलाई अरु अनलाइनहरूसँग प्रतिस्पर्धा गर्नु पनि छैन । हाम्रो गति आफ्नै हुनेछ । युनिकोडबाट नेपाली भाषामा संसारभर एकैचोटी हेर्न सकिने देशकै पहिलो अनलाइन–न्यूजअफ नेपाल डटकममार्फत् हामीले संसरभर छरिएका नेपालीहरूबाट स्याबासी नपाएको पनि होइन । कुनै बेला यो साइट प्रतिस्पर्धामा अव्बल रहेकै पनि हो । तर, बीचमा प्रकाशनमाथि आएको उत्तार–चढाव र अन्य विभिन्न प्राविधिक कारणले केही महिनाका लागि यो साइट बन्द गर्नु परेको थियो । यो साइट अचानक बन्द गर्दा सबैबाट व्यक्त चिन्ता र चासोका कारण पनि हामीलाई यो साइटलाई चाँडो भन्दा चाँडो ल्याउन उत्प्रेरित गरेको हो ।
कामना न्यूज पब्लिकेसन्सको नयाँ भगिनी संस्थाको रुपमा अव हामी नयाँरुप, नयाँ सज्जा, नयाँ शैली र नयाँ प्रस्तुतिका साथ यहाँहरू समक्ष पुनः आएका छौं । यहाँहरूको देश विदेशको सूचनाको भोक मेटाउनका लागि हामी निरन्तर रुपमा क्रियाशील हुनेछौं । यो तपाईंहरूको थप बैकल्पिक मिडिया पनि हुने छ । यसले मल्टिमिडियाका रुपमा काम गर्ने छ ।
हाम्रो अनलाइनमा विविधता हुनेछ ।

मुलुक र मुलुकबासीलाई केन्द्रमा राखेर सूचना दिन हामी अहोरात्र खट्ने छौं । यस अनलाइनमा हामी आफूले सिकेको ज्ञान, सीप, कुशलता र क्षमताको परिपक्व ढंगले प्रदर्शन गर्न प्रतिबद्ध छौं । यहाँहरूको माया र सद्भाव प्राप्त हुने कुरामा हामी विश्वस्त छौं । यहाँहरूको उचित सल्लाह र सुझाव सधैं ग्रहण गर्ने बचनबद्धता प्रकट गर्दै पुनः यो अनलाइनलाई सुचारु गर्न प्रेरित गर्ने देश–विदेशका सम्पूर्ण शुभ–चिन्तकहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्