डिमुवा–राम्जा सडक कालोपत्रे शुरु



दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको डिमुवादेखि राम्जा चित्रे जोड्ने डिमुवा–राम्जा सडक कालोपत्रे गर्न शुरू गरिएको छ। पर्वतको दोस्रो व्यापारिक केन्द्र तिलहार गाविसको डिमुवादेखि राम्जासम्म जोड्ने सडक कालोपत्रे गर्ने काम मंगलबारदेखि शुरू भएको हो। सडक कालोपत्रे गर्ने कामको शुरू सँगै डेढ वर्षदेखि जग्गा बिबादका कारण रोकिएको रतिखोलाको पक्की मोटरेबल पुलको निर्माण कार्यसमेत शुरू हुने भएको छ ।

सडक डिभिजन कार्यालय बाग्लुङले दिएको जानकारीअनुसार डिमुवा–राम्जा सडकमा यस पटक ७ किलोमिटर पक्की गर्ने काम शुरू भएको हो। यस पटक टेन्डरको ८ किमी सडक कालोपत्रे गर्न १० करोड ३९ लाख रुपियाँ खर्च लाग्ने छ। सडक साढे पाँच किलोमिटर चौडाई हुने र घुम्तीहरूमा ७ मिटर सम्म चौडा हुने डिभिजनका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो। सडक निर्माणका लागि गजुरमुखी निर्माण सेवासँग डेढ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएको हो। सम्झौता गएको असार महिनामा भएको थियो। उक्त काम सम्पन्न भएपछि बाँकी ९ किलोमिटर सडक कालोपत्रे गर्नका लागि पनि ठेक्का निस्कने डिभिजनले जानकारी दिएको छ।

डिमुवा–राम्जा सडक कालोपत्रे भएपछि पर्वतका तिलहार, राम्जा, चित्रे तथा कुस्मा नगरपालिकाको १८ नम्बर वडाका बासिन्दाहरू प्रत्यक्ष गाविसका वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। सडक कालोपत्रे भएपछि पर्यटकीय स्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा होमस्टे सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुनेछ। यसले त्यस क्षेत्रको आर्थिक तथा पर्यटन क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने सडक बनाउन पहल गर्नुभएका जिल्ला विकास समितिका पूर्वसभापति एवम् नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गणेश तिमिल्सिनाको बताउनुभयो।

यसैगरी डिमुवा–राम्जा सडकमा पर्ने रतीखोलामा पनि पक्की मोटरेबल पुल निर्माणको काम यसैसातादेखि शुरू हुने भएको छ। डेढ वर्षदेखि जग्गा बिबादका कारण रोकिएको सडकको निर्माण कार्य रोकिएको थियो। रतिखोलामा निर्माण हुने उक्त मोटरेबल पुल ७० मिटर लामो तथा ६ मिटर चौडाई हुनेछ।
मूल्य अभिवृद्धि कर बाहेक ८ करोड ४ लाख रुपियाको लागतमा पुल निर्माण कार्य सम्पन्न हुनेछ। पुल निर्माण गर्नका लागि २०७२ असारमा सम्झौता भएपनि खोला किनारका जग्गाधनीको बिबाद का कारण अहिले सम्म काम नै शुरु हुन सकेको थिएन। जग्गाधनीले पुल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको बुझिएको छ। निर्माण कार्य ३० महिना भित्र पुरा हुने सडक डिभिजन कार्यालय बाग्लुङले जनाएको छ।

रतिखोलामा पुल नहुँदा वर्षा याममा तीन महिना सवारीसाधन चलाउन कठिन हुँदै आएको छ। तीन महिना त्यस क्षेत्रमा चल्ने सवारी साधन बन्द गर्नुपर्ने अवस्था छ। सडक कालोपत्रे हुने र पक्की पुलसमेत निर्माण भएपछि बाह्रै महिना सडक सञ्चालन गर्न सहज हुने यातायात ब्यबसायी गणेश पुरीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्