मेलम्ची पानीको प्रतीक्षामा उपत्यकावासी



(सुदर्शन अधिकारी) पानी समस्त प्राणी र वनस्पतिका लागि मात्र नभई वातावरणसँग पनि जोडिएको महत्वपूर्ण पदार्थ हो । पानीविनाको जीवनको कल्पनासम्म पनि गर्न सकिँदैन । पानी मानवलाई त बिहान बिछ्यौनाबाट उठेदेखि राति बिछ्यौनामा नपुग्दासम्म अनेकौँ पटक पिउनका लागि, शारीरिक सरसफाइ र खाना बनाउनका लागि नभई हुँदैन । त्यसैले त पानी नै जीवन हो भनिन्छ । काठमाडौं उपत्यकाभित्र रहेका उपभोक्तालाई लक्षित गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कार्य गर्दै आएको धेरै भयो । तर अझै यहाँका बासिन्दाले आफूलाई चाहिए जति पानी पाउन सकेका छैनन् ।

विकासको गतिसँगै मानवले थप सुविधा उपभोग गर्न चाहन्छ । तसर्थ पाँच वर्षअगाडि प्राप्त गरेको सुविधा आज अपुग हुँदै जान्छ । यो प्रविधिसँग बढी गाँसिएको विषय हो । उपत्यकाका तीनवटा जिल्लाको खानेपानी व्यवस्थापनको जिम्मेवारी पाएको केयुकेएलले सहजरुपले आवश्यक मात्रामा उपभोक्तालाई पानी वितरण गर्न सकेको छैन । अव्यवस्थित शहरीकरणका कारण प्राकृतिक सम्पदाहरूको नाश भएको छ भने सुन्दरतामा समेत ह्रास आएको छ ।

शहरीकरणले यहाँको प्राकृतिक स्रोत र सम्पदालाई संरक्षण गरिराख्नुपर्ने थियो । त्यो नहुँदा शहरीकरण समस्या बनेर गएको छ । योजनाविहीन र अदूरदर्शिताका कारण जहाँ शहर छ त्यहाँ खानेपानी, विद्युत्, ढल निकास आदिका समस्याले पिरोलेकै पाइन्छ । जहाँ ग्रामीण बस्ती छन् त्यहाँ पूर्वाधारहरूको विकास गराई शहर बनाउनुपर्ने हो तर गाउँबाट धमाधम शहरमा नागरिक आकर्षित भैदिँदा शहरी जीवन झनै जटिल र समस्या बनेर गएको छ । पानी, विद्युत्, ढल निकास आदिको अभावले शहरी जीवनयापन गर्नेले कठिनाइको सामना गरिरहेका छन् । पैसा तिरेर पनि पानी पाइँदैन, बिजुली बल्दैन, मासिक शुल्क तिरेर पनि टोलमा फोहोरका डंगुर हुन्छ । फोहोर व्यवस्थापनको जिम्मेवारी पाएकाले पनि आफ्नो जिम्मेवारी प्रभावकारीरुपले निर्वाह गर्न नसक्दा गम्भीर समस्या बनेर गएको छ उपत्यकाको फोहोर व्यवस्थापन कार्य पनि ।

यहाँ विशेषतः खानेपानी समस्यालाई उठान गर्न खोजिएकाले यसै सन्दर्भमा कुरा गरौं । उपत्यकावासीलाई दैनिक ३७ करोड लिटर पानीको खाँचो रहेको छ । तर हिउँदको समयमा मुस्किलले ११ करोड लिटर मात्र आपूर्ति गर्दै आएको पछिल्लो तथ्यांकले देखाएको छ । सन्त नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौंको सडक पखाल्ने भनेर बोल्दा मजाकसमेत ठानियो । आज दुई दशकपछि पनि त्यही कार्य प्रभावकारी, चुस्त र तोकिएको समयमा सम्पादन गर्न नसक्दा उपत्यकावासीले काकाकुलको नियति भोग्दै छन् । अब ७४ सालको नयाँ वर्षमा सबैले सहजरुपले पानी उपभोग गर्न पाउनेछन् भने पनि फेरि यो समय आश्विनसम्म सरेको छ ।

हाम्रो कमजोरी भनेकै योजनाअनुरुप कार्यसम्पादन गर्न नसक्नु । विकास आयोजनामा पटक–पटक अवरोध सिर्जना गर्नु, बजेट अभाव हुनु, राजनीतिक दल बढी जिम्मेवार नबन्नु, मजदुरले अनेकौं माग राखेर कार्य नगर्नुजस्ता समस्याले आयोजनाको लागत बढेर जानु समान्य भएको छ । अब भने उपभोक्ताको घर–कम्पाउन्डसम्म पाइप लाइन बिछ्याउने कार्य, विभिन्न स्थानमा रिजर्भ ट्याङ्क निर्माण कार्य भैरहेको अवस्थालाई हेर्दा भने ढिलै भए पनि मेलम्चीको पानी अवश्य नै आउँछ भरेर निश्चिन्त हुन सकिन्छ । हुन त अर्को समस्या के थपिएको छ भने, बिछ्याइसकिएको पाइप पनि फेरि निकाल्ने कार्य भएको छ । ढल तथा अन्य भवन निर्माणका लागि भनेर सम्पन्न भएको कार्यमा पुनः अवरोध र ढिलाइ गरी लागतसमेत बढाउने कार्य व्यवस्थापन र दूरदर्शीताको कमीले भएको देखिन्छ ।

हालकै जस्तो सुस्त गतिमा निर्माण कार्य हुने हो भने अझै पनि भनिएको समयमा पानी आउनेमा ढुक्क हुने अवस्था देखिँदैन । राष्ट्रिय गौरवका आयोजनामा कुनै क्षेत्रबाट पनि अवरोध हुनुहुँदैन अनि मात्र समयमा काम फत्ते हुन्छ । यसतर्फ आयोजना गम्भीर हुनु जरुरी देखिन्छ । अब उपत्यकावासीको पानी पाउने प्रतीक्षाको घडी नलम्बियोस् ।

प्रतिक्रिया दिनुहोस्