रुस र सिरियाली विद्रोहीबीच सहमति विद्रोहीले पूर्वीअलेप्पो छोड्ने



दमास्कस, (एजेन्सी) सिरियाली विद्रोही र रुस दुबै पक्षबीच अलेप्पोमा संघर्ष विरामका लागि सहमति भएको छ। उक्त सम्झौताअनुसार सिरियाली विद्रोहीले पूर्वी अलेप्पोको आफ्नो नियन्त्रणमा रहेको इकाला छोड्नेछ। सम्झौतामा संघर्षग्रस्त इलाकामा फसेका आम नागरिकहरूमाथि लागू हुन्छ वा हुँदैन भन्ने विषयमा खुलाइएको छैन।

रुसी हवाई आक्रमणको मद्दतले सिरियाली सुरक्षाबल लगातार अगाडि बढिरहेका छन् र अलेप्पोमा विद्रोहीहरू पराजयको संघारमा पुगेका छन्।यो सम्झौतामा पुग्नुअगाडि संयुक्त राष्ट्र संघले सरकार समर्थक बलले ८२ जना आम नागरिकलाई गोली हानी हत्या गरेको र त्यसको प्रमाणसमेत भएको बताएको छ।

अलेप्पोबाट आइरहेका छन्,
हृदयविदारक सन्देश
सिरियको अलप्पोमा राष्ट्रपति बसर अल असदका सेनाले शहरको धरैजसो हिस्सामा कब्जा गरिसकेका छन्। यसबीच अलेप्पोका पूर्वीहिस्सामा विद्रोहीको कब्जामा रहेको एउटा सानो इलाकामा फसेका नागरिकहरूले भावुक अन्तिम सन्देश पठाइरहेका छन्। सिरियाली सेनाको भीषण बमबारीकाबीच उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग मद्दतका लागि अपील गरिरहेका छन्।

गत राति मात्रै ट्विट गरिरहेकी एकजना कार्यकर्ताले लेखेकी छिन्– पूरै विश्वका मानिसहरू, नसुत्नुहोला। तपाईंहरू केही गर्न सक्नुहुन्छ, प्रदर्शन गर्नुस्। यो नरसंहारलाई रोक्नुस्। आफ्नो भिडियो सन्दशमा लिनाले भनिन्– जोकोही जसले मलाई सुन्न सक्छ। घेराबन्दीमा फसेको अलेप्पोमा नरसंहार भइरहेको छ। यो मेरो अन्तिम भिडियो हुनसक्छ। तानाशाह असद विरुद्ध विद्रोह गर्ने ५० हजारभन्दा धेरै नागरिकमाथि नरसंहारको खतरा छ। मानिसहरू बमबारीमा मारिएका छन्। हामी जुन इलाकामा फसेका छौं, यो दुई बर्गमाइलभन्दा पनि सानो छ। यहाँ भइरहेको बमबारी एक किसिमको नरसंहार हो। अलेप्पोलाई बचाऊ, मानवीयतालाई बचाऊ।

अलेप्पोबाट आइरहेका बाँकी सन्देशमा आशा समाप्त भइरहेको देखिएका छन्। यो भिडियोमा एकजना व्यक्ति भनिरहेका छन्– हामी वार्ताबाट थाकिसकेका छौं, भाषणले थाकिसकेका छौं। कसैले हामीलाई सुनिरहेका छैनन्। कसैले जवाफ दिइरहेको छैन। ऊ हेर ब्यारल बम खसिरहेको छ।

यो भिडियो बम विस्फोटका आवाजहरूसँगै समाप्त हुन्छ। मंगलबार बिहान जीवित उठेका मान्थर इताकी लेख्छिन्– म अहिलेसम्म जीवित छु, आफ्ना विशेष साथीहरूसँग नरसंहारको सामना गर्नका लागि। विश्वले केही गर्ने छैन, आशा गर्छु म आफ्नो मृत्यु तिमीहरूका लागि लाइभ ब्रोडकास्ट गर्न सकूँ।

मंगलबार साँझ गरिएको एउटा ट्विटमा अलहमदोले लेखे– म यतिमात्र चाहन्छु कि मेरी छोरीले केरा चाख्न पाओस्। उनलाई राम्रो खाना मनपर्छ। उसले कहिलेपछि यस्तो खाना खाएकै छैन। म सायद उसलाई कहिले पनि राम्रो खाना ख्वाउन पाउँदिन।

पूर्वी अलेप्पोबाट ट्विट गरिरहेका शिक्षक अब्दुल काफी अलहमदोले यसलाई प्रलयको दिन बताएका छन्। उनले बीबीसी न्युजलाई भने– जताततै बम खसिरहेका छन्। मानिसरहरू भागिरहेका छन्। उनीहरूलाई थाहा छैन, कहाँ गइरहेका छन्। सडकमा घाइतेहरू अलपत्र परेका छन्। कसैले उनीहरूको मद्दत गर्न जान सकेका छैनन्।

‘केही मानिस भग्नावशेषमा पुरिएका छन्। कसैले पनि उनीहरूको मद्दतका लागि जान सकेका छैनन्। उनीहरूलाई मर्नका लागि छोडिएका छन्। यी घर नै उनीहरूको चिहान बनेका छन्। एउटा लाइभ भिडियोमा अलहमदोले लेखेको छ– अब संयुक्त राष्ट्र संघमाथि विश्वास नगर्नु। अन्तर्राष्ट्रिय समुदायमाथि विश्वास नगर्नु। यो नसोच्नु कि यहाँ के भइरहेको छ, उनीहरूलाई थाहा छैन। उनीहरूलाई थाहा छ, हामी मारिँदै छौं। उनीहरूलाई थाहा छ हामी नवइतिहासको सबैभन्दा भीषण नरसंहारको सामना गरिरहेका छौं।

प्रतिक्रिया दिनुहोस्