थन्किए डिजेल प्लान्ट



(कमला अर्याल) नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ घटाएसँगै डिजेल प्लान्टको प्रयोगमा पनि कमी आएको छ। प्राधिकरणले काठमाडौं उपत्यकालाई तिहारलगत्तै लोडसेडिङमुक्त गर्ने तथा उपत्यकाबाहिरका जिल्लाहरूमा पनि लोडसेडिङ घटाउने घोषणा गरेपछि उद्योग क्षेत्रमा प्रयोग हुँदै आएका डिजेल प्लान्टहरू यतिबेला त्यसै थन्किन बाध्य भएका छन्। निजी उद्योग व्यवसायीहरूले विद्युत्को माग पूरा गर्न उद्योग सञ्चालनका लागि डिजेल प्लान्टको प्रयोग गर्दै आएका थिए। काठमाडौंमा एकाएक लोडसेडिङ घटेपछि ती डिजेल प्लान्टको प्रयोग घटेको हो।

उद्योग वाणिज्य महासंघका अनुसार विद्युत्को सहज आपूति नहुँदा ५ सय मेघावाट विद्युत् उत्पादन गर्ने क्षपता भएका डिजेल प्लान्टहरूको प्रयोग गर्नुपर्दथ्यो । तर, त्यसको तुलनामा लोडसेडिङमा आएको कमीका कारण त्यस्ता डिजेल प्लान्टहरू क्रमशः घट्दै गएका छन्। लोडसेडिङ घट्दा भारतबाट हुने डिजेलको आयात पनि घट्ने महासंघको ठहर छ। महासंघ ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘लोडसेडिङको अन्त्यले डिजेल प्लान्टको प्रयोगमा कमी ल्याएको छ, साथै हाम्रो आर्थिकभार पनि कम गराएको छ। जसका कारण उद्योगी व्यावसायीहरूलाई आर्थिकरूपमा भार पनि कम भएको सभापति प्रधानले जानकारी दिनुभयो। महासंघको अनुसार साढे ५ सय मेघावाट विद्युत् उत्पादन क्षमता बराबरका डिजेल प्लान्ट प्रयोग गर्न बाध्य भएका उद्योगी व्यवसायीहरूलाई यतिबेला भने राहत महसुस भएको महासंघले जनाएको छ।

गत वर्ष उद्योग व्यवसाय क्षेत्रमा २२ देखि २५ अर्ब रुपिँया बराबरको डिजेल प्रयोग भएको थियो। तर, यस वर्ष भने १५ अर्ब रुपियाँ बराबरको मात्र डिजेल खपत हुन सक्ने अनुमान सभापति शाक्यको छ। त्यस्तै १ सय मेघावाट बराबरको विद्युत् उत्पादन गर्ने इन्भटरहरू पनि सञ्चालनमा रहेको अनुमान शाक्यको छ। लोडसेडिङमा आएको न्युनीकरणका कारण आगामि एक वर्षभित्र १६ अर्ब रुपियाँ बराबरको डिजेल आयातमा कमी हुने महासंघको भनाइ छ।

सरकारले भारतबाट विद्युत् आयात गरेर लोडसेडिङको अन्त्य गरे पनि डिजेलभन्दा सस्तो पर्ने भएकाले नेपाललाई कम आर्थिक भार पर्ने महसंघको ठहर छ। भारतबाट विद्युत् ल्याउँदा पनि नेपाललाई ६६ प्रतिशत आर्थिक भार कम हुने तथा नेपाली उद्योगी व्ययवसायीहरू प्रत्यक्षरूपमा लाभान्वित हुन सक्ने महासंघले जनाएको छ। डिजेल प्लान्ट तथा सोलारलगायतका विद्युत् उत्पादनका विकल्प सामान्यतया महँगो हुने भएकाले भारतबाट विद्युत् आयात गरेर लोडसेडिङको अन्त्य गरे पनि आर्थिक भार कम पर्ने तथा उद्योग व्यवसायीहरूलाई राहत हुन सक्ने महासंघको तर्क छ।

प्रतिक्रिया दिनुहोस्