बहुआयामिक खेलमैदानमा प्याराफिट



रोशन पराजुली, हेटौंडा

नेपाल भ्रमणका क्रममा एक स्पेनिस वृद्धले मकवानपुरको भीमफेदीमा एक रात बिताए। ऐतिहासिक र पर्यटकीय गन्तव्यमा रात बिताएका उनले सोचे कि त्यहाँ एउटा खेलमैदान बनाउन पाए कत्ति राम्रो हुन्थ्यो होला।

त्यहाँ पुग्ने पर्यटक र स्थानीयले खेलबाट भरपुर मनोरञ्जन लिने सोच उनको थियो। र, उनले त्यहाँ बहुआयामिक खेलमैदान बनाउन सहयोगको वचन दिए। उनले स्पेनबाट पठाइदिएको करिब २५ लाख रुपियाँ खर्चेर भीमफेदी गाविस–८, चिसापानीस्थित ऐलानी जग्गामा मल्टिपर्पोज कोर्ट (बहुआयामिक खेल मैदान) निर्माण जारी राखिएको छ।

त्यहाँ हाल जिविसको १ लाख ४८ हजार सहयोगमा सोलार र २ सय जना दर्शक क्षमताको प्याराफिट निर्माणाधीन रहेको बताए। रंगरोगन गर्न भने सहयोगी दाताको खोजी भइरहेको छ। प्याराफिट ढलानकार्य भइरहेको छ।

भीमफेदीस्थित भीम आधार सामुदायिक स्कुलका विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा प्रफुल्ल भएका जोन ख्वाङ्खो स्पेन फर्केर भीमफेदीको परिचय झल्कने लोगो छापिएका मास्क बिक्री गरी रकम जुटाएका हुन्।
जोनले स्पेनमा आफ्ना साथीहरूमाझ प्रतिमास्क २ सय युरोमा बिक्री गरी काठमाडौंस्थित कान्तिपुर रोटरी क्लबमार्फत् विद्यालयको नाममा रकम पठाएको विद्यालयका प्रशासन प्रमुख सुरेन्द्र थिकेले बताए। जोनले पठाइदिएको २५ लाख रुपियाँले पूरै सिमेन्ट ढलान गरी खेलमैदान बनाइएको छ।

उक्त कोर्टको प्रवद्र्धनमा सघाउन स्पेनिस खेलाडी टोली मैत्रीपूर्ण खेलका लागि भीमफेदी आउने तयारी गरिरहेको जानकारी थिकेले दिए। तर, आवश्यक पूर्वाधार नहुँदा उक्त कार्य हुन नसकेको थिकेले बताए।

बास्केटबल, फुटसल, बक्सिङ, भलिबल, लन टेनिस र ब्याडमिन्टन खेल्न सकिने गरी ७० मिटर लम्बाइ र ४० मिटर चौडाइ आकारमा फोल्डिङ सिस्टमसहित कोर्ट बनाइएको थिकेले बताए। खेलका लागि उपयुक्त हावापानी भएका कारण भीमफेदीमै इन्डोर शैलीले कोर्ट बनाइएको हो।

त्यहाँ भौतिक निर्माणका लागि स्पेनबाट हालसम्म २८ जना इन्जिनियर हेटौंडा आइसकेका छन्। प्रतिमहिना २ जना इन्जिनियर आएर आफैं काम गर्ने गरेको थिकेले जनाए। हाल त्यहाँ ४ जना स्वयंसेवी स्पेनिस इन्जिनियर खटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्