नेपालको लक्ष्य सेमिफाइनल



काठमाडौं, (नेस)
श्रीलंकामा हुने एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सेमिफाइनल पुग्ने लक्ष्य लिएको छ।
टेस्ट क्रिकेट खेल्ने राष्ट्रसमेत रहेको प्रतियोगितामा सहभागी जनाउने नेपाली यु–१९ क्रिकेट टोलीलाई सोमबार बिदाइ गरिएको छ। सोही कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले सेमिफाइनल पुग्ने सक्ने बताएका हुन्। सन्दीपले टिम राम्रो रहेको र आफूहरू उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताए। उनले भने– ‘हाम्रो मुख्य लक्ष्य भनेको सेमिफाइनल पुग्नु हो। पहिलो लक्ष्य पूरा भएपछि हाम्रो स्वभाविकरूपमा फाइनल पुग्ने लक्ष्य भइहाल्छ।

सन्दीप यु–१९ टिमको बन्द प्रशिक्षण शुरू हुनुअगाडि मात्रै अस्ट्रेलियाबाट नेपाल फर्केका हुन्। उनले त्यहाँ ग्रेड क्रिकेट खेलेर केही अनुभवी बटुलेर नेपालमा आएपछि उनलाई सीधै यु–१९ को कप्तानमा छनोट गरिएको थियो। उनले भने– ‘यो टिम एसिया कपका लागि मात्र नभई सन् २०१८ मा हुने विश्वकपलाई समेत ध्यानमा राखेर टिम बनाइएको हो। मलाई मेरो टिमका साथीहरूप्रति विश्वास छ।

जबकि प्रतियोगितामा नेपाल कठिन समूह ‘ए मा परेको छ। नेपालले आयोजक श्रीलंका, डिफेन्डिङ च्याम्पियन भारत र मलेसियासँग कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। नेपालले समूहको पहिलो खेलमा श्रीलंकासँग मंसिर ३० गते, भारतसँग पुस १ गते र मलेसियासँग पुस ३ गते प्रतिस्पर्धा गर्नेछ।

कठिन समूहमा परे पनि बिदाइ कार्यक्रममा नेपाली टोलीका मुख्य प्रशिक्षक बिनोद दासले नेपालले राम्रै गर्ने आशा गरेका छन्। दासले श्रीलंकालाई समेत हराउन सक्ने दाबी गरेका छन्। उनले भने– ‘यु १९ टोलीले न्युजिल्यान्ड जस्ता टोलीलाई हराइसकेको छ। यसैले पनि श्रीलंकालाई हराउन नसक्ने कुरै भएन। यो साँचो हो हामीले त्यति तयारी गर्न समय पाएनौं। सायद हाम्रा प्रतिद्वन्द्वीले उच्च तयारीमा रहेका होलान्। तर, एक हजार खेलाडीबाट छानिएको यो टोली प्राविधिक र मनोवैज्ञानिकरूपमा सशक्त रहेको मैले पाएको छु।

नेपाली टोलीमा यसअघि यु–१९ टिमबाट अनुभव हासिल गरेका तीन खेलाडी मात्र छन्। अन्य सबै खेलाडीहरू ट्यालेन्ट हन्ट कार्यक्रमबाट आएका हुन्। यद्यपि उनीहरूले यसअघि यु–१६ टोलीबाट खेलिसकेका छन्। सिनियर टोलीबाट पनि खेलिसकेका सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोलीले उनको अनुभवले बलियो उपस्थित गर्नेसमेत आशा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्