चर्च ब्वाइजलाई उपाधि



रमेश समदर्शी, बिर्तामोड

ठमाडौंको चर्च ब्वाइज युनाइटेडले झापाको शरणामतीमा आयोजित प्रथम शरणामती गोल्डकपको उपाधि रक्षा गरेको छ। उसले आयोजकलाई सडन डेथमा पराजित गर्दै उपाधि रक्षा गरेको हो।

दुवै टोलीले निर्धारित खेल गोलरहित खेलेपछि टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि निर्णय सडन डेथबाट लिइएको हो। जसमा चर्च ब्वाइज ४–३ गोलले विजयी बन्यो। चर्च ब्वाइजका तर्फबाट विक्रम लामा, विमल घर्तीमगर, विदेशी खेलाडी मार्टिन जस्ता भरपर्दा खेलाडी मैदान उत्रे पनि स्कोर गर्न सकेनन्।

त्यस्तै, आयोजकको तर्फबाट कर्ण लिम्बु, रेजिन लिम्बु, राजीव लोप्चनलगायत खेलाडी मैदानमा थिए। कर्णले पाएको धेरै अवसर खेर गएको थियो। त्यस्तै, चर्च ब्वाइजका मार्टिनको प्रहार गोलपोस्टमा लागेर बाहिरिँदा खेल लम्बिएको हो।

टाइब्रेकरमा विमल चुकेका थिए। चर्च ब्वाइजका लागि पहिलो प्रहारमा गरेका विमलको बल बाहिरिएको थियो। त्यस्तै पासाङको लामाको प्रहार मस्ट भ्यालुएवल प्लेयर घोषित आयोजकका गोलरक्षक योगेश प्रसाईंले रोकेका थिए भने लावल सेडरिक, विक्रम लामा र मार्टिनको प्रहार गोलमा परिणत भएको थियो।

उता आयोजकका लागि सडन डेथमा मनिष लामाको प्रहार बाहिरिँदा उपाधि चर्च ब्वाइजलाई सुम्पिनुपरेको थियो। जसमा चर्च ब्वाइजका जिमी भाग्यमानी सावित भए। उनको प्रहारले जाली चुमेको थियो।

टाइब्रेकरमा आयोजकका विकास राई र रेजिन लिम्बुको प्रहार बेस्ट गोलकिपर घोषित चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीले रोके भने कर्ण लिम्बु, राजीव लोप्चन र जय गुरुङको प्रहार गोलमा परिणत हुँदा खेल सडन डेथमा धकेलिएको हो।

खेलको मिडफिल्डरको उपाधि आयोजकका रेजिन सुब्बा घोषित हुँदा चर्च ब्वाइजका विक्रम लामा म्यान अफ दि म्याचको उपाधि रक्षा गर्न सफल भए। त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधि चर्च ब्वाइजका अरूण श्रेष्ठ भए। सबै खेलाडीले नगद ५ हजार पाए भने खेलकै उत्कृष्ट खेलाडी घोषित आयोजकका गोलरक्षक योगेश प्रसाईंले १५ हजार बराबरको मोबाइल पाए।

प्रतियोगिताको विजेता चर्च ब्वाइजले १ लाख ११ हजार १११ रुपियाँ र ट्रफी पाउँदा उपविजेता आयोजक शरणामती फ्रन्डस क्लबले ६२ हजार १ सय ११ रुपियाँमा चित्त बुझायो।

प्रतिक्रिया दिनुहोस्