विश्वकै सबैभन्दा मोटी महिलाको भारतमा उपचार



कायरो, (एजेन्सी)
इजिप्टका एमान अहमद नामक महिला विश्वकै सबैभन्दा बढी वजनकी भएको दाबी उनको परिवारले गरेको छ। उनको शारीरिक वजन ५ सय केजी रहेको छ। एमानकी बहिनी साइमाले सीएनएनलाई भनेकी छिन् ,‘उनको जीवनशैली अरूको भन्दा निकै बेग्लै र कष्टकर रहेको छ।

आफ्नो बाल्यकाल र युवावस्थाको रमाइलो भोग्नबाट बञ्चित उनले विगत ३६ वर्षदेखि मोटोपनाको रोगसँग संघर्ष गर्दै आएकी छिन्। ‘ उनको परिवारका अनुसार दुई दशकभित्र उनले कहिल्यै शयनकक्षभन्दा बाहिर जान पाएको छैन। हिंँडडुल गर्न र कुराकानी गर्न असमर्थ उनी त्यर्ही शयनकक्षमा सिलिङ ताकेर बस्ने गरेकी छिन्।

दुई वर्षअघि भएको मस्तिष्कघातका कारण उनी बोल्न र हलचल गर्न असमर्थ भएकी हुन्। तर सामाजिक सञ्जालले उनको समस्याबारे गरिदिएको प्रचार प्रसारले उनको जीवनमा केही आशा पलाएको छ। भारतको मुम्बईस्थित डाक्टर मुफजल लाक्दावालले उपचारका लागि उनलाई भारत ल्याउन कोष संकलन गर्ने अभियान चलाएका छन्।

निकट भविष्यमा भारत ल्याएर शल्यक्रिया गरी उनको वजन १ सय केजी मुनि झार्ने डाक्टर मुफजलको लक्ष्य रहेको छ। यस्तो हालतमा उनको जीवन कुनै पनि समयमा अन्त्य हुन सक्ने मुफजलले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्