ताइवानको विषयमा ट्रम्पको बयानले चीन रुष्ट



बेइजिङ, (एजेन्सी)
अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्र ताइवानको विषयलाई लिएर गरेको टिप्पणीलाई लिएर आफ्नो ‘गम्भीर चासो रहेको बताउँदै चीनले उक्त स्वशासित टापुसँगको सम्बन्धमा अमेरिकाले लिन कुनै पनि फरक नीतिले बेइजिङ र वासिंगटनबीचको कूटनीतिक सम्बन्धलाई नोक्सान पुर्याउने चेतावनी दिएको छ।
ट्रम्पले एउटा टेलिभिजनलाई दिएको अन्तरवार्तामा आफू ‘एक चीन नीति बाँधिएको महसुस नगरेको बताएपछि चीनको उक्त प्रतिक्रिया आएको हो।

चीनका विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले स्थापित नीति चीन र अमेरिकाबीचको कुनै पनि कूटनीतिक सम्बन्धको ‘राजनीतिक जग भएको बताउँदै यसमा पुग्ने कुनै पनि क्षतिले आपसी सहयोगमा ब्यवधान ल्याउन सक्ने बताए।

‘हामी नयाँ अमेरिकी नेता र सरकारलाई ताइवानको मुद्दाको गाम्भिर्यतालाई पूर्ण रूपमा बुझ्न र एक चीन नीतिमा आफ्नो प्रतिबद्धतालाई जारी राख्न आग्रह गर्छौ –गेङले बताए। जनगणतन्त्र चीनलाई सन् १९७९ मा मान्यता दिएदेखि अमेरिका बेइजिङलाई चीनको राजधानी मान्यता दिँदै एक चीन नीतिमा अडिग रहँदै आइरहेको छ। उसले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्र राख्दै आइरहेको छ। यद्यपि अमेरिकी कानुनले ताइवानले आफ्नो सुरक्षा सुनिश्चित गर्न पाउने र उक्त टापुमाथि आइलाग्ने खतराप्रति अमेरिकाको गम्भिर चासोको विषय हुने प्रावधान छ।

सन् १९४९ को गृहयुद्धको क्रममा ताइवान चीनबाट टुक्रिएको हो। यद्यपि उक्त टापुलाई अलग्गिएको प्रान्तका रूपमा लिने गरेको र आवश्यक परेमा त्यसलाई मुख्य भूमिसँग बल प्रयोग गरी एकीकरण गरिने बेइजिङले बताउँदै आइरहेको छ।

गत डिसेम्बर २ मा ट्रम्पले ताइवानी राष्ट्रपति साइ इङग्वेनसँग टेलिफोन वार्ता गरेको घटनाले नै बेइजिङलाई रुष्ट बनाइसकेको छ। यो अमेरिकी राष्ट्रपति वा निर्वाचित राष्ट्रपतिबाट ताइवानी नेतासँग सार्वजनिक रूपमा वार्ता गरेको विगत ४ दशककै पहिलो घटना हो। अलग्ग ताइवानी राष्ट्राध्यक्षको संकेत दिने कुनै पनि घटनालाई चीनले आफ्नो ठूलो अपमानका रूपमा लिने गरेको छ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ‘एक चीन नीति मा प्रश्न उठाएको छ। उनले चीनको तर्फबाट कुनै छुट नदिएको अवस्थामा यसलाई जारी राख्नुको कुनै अर्थ नहुने बताएका छन्।

यो नीति विगत ४ दशकदेखि अमेरिका–चीन सम्बन्धको महत्त्वपूर्ण आधार रहेको छ। यस्तोमा ट्रम्पको बयानबाट चीनमा खैलाबैला मच्चिनु स्वाभाविक मानिएको छ।

प्रतिक्रिया दिनुहोस्