पुटिनद्वारा जापानको कुकुर उपहार अस्वीकार



मस्को, (एजेन्सी)
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले जापान सरकारले उपहारस्वरूप कुकुर प्रदान गर्ने भनिएको प्रस्तावलाई अस्वीकार गरेका छन्।जापानका सांसद कोइची हेगिउदाले त्यसको जानकारी दिएका हुन्। यद्यपि उनले उक्त उपहार लिन पुटिनले अस्वीकार गरेको कारण भने बताएनन्। जापानले पुटिनलाई सन् २०१२ मा युम नामकी एउटा अकिता (जापानी नश्ल) को कुकुर दिएको थियो। अब दिने भनिएको कुकुर युमेका लागि साथी बन्ने मनसायले दिन लागिएको थियो।

हेगिउदाले आफ्नो ब्लगमा यस विषयमा लेखेका छन्– ‘दुर्भाग्यवश हामीले रूसीहरूबाट सुने, हामीले उपहारमा दुलहा दिने आशा टुटेको छ। पुटिनसँग बुफी नामका बुल्गेरियन सेफर्ड कुकुर पनि छ। त्यो कुकुर उनलाई बुल्गेरियाका प्रधानमन्त्रीले सन् २०१० मा उपहारस्वरूप दिएका थिए।

उनको लेब्राडोर कोन्नी कुकुर रूसी रक्षामन्त्री सर्गेई सोयगुले उपहार दिएका थिए। उक्त कुकुरको सन् २०१४ मा मृत्यु भएको थियो। एकपटक पुटिनले कोन्नीलाई जर्मन चान्सलर एन्जेला मर्केलसँग मिलाउन ल्याएका थिए। तर मर्केल आफैं कुकुरसँग डराउँथे।

त्यति बेला केही समाचारमा पुटिनले चान्सलरलाई तर्साउनका लागि त्यस्तो गरेको उल्लेख गरेका थिए। तर यसै वर्षको शुरूमा पुटिनले एउटा जर्मन अखबारलाई मर्केल कुकुरसँग डराउँछ भन्ने कुरा आफूलाई थाहा नभएको बताए।
उनले भने– ‘जब मैले उनी कुकुर मन पराउँदैनन् भन्ने थाहा पाएँ, तब मैले माफी मागेँ।

प्रतिक्रिया दिनुहोस्