नेपाली कामदारका लागि भारतमा रेमिटेन्स सेवा



नेपाल समाचारपत्र
काठमाडौं

भारतमा काम गर्ने नेपाली कामदारहरुलाई आफ्नो घरमा सहज रूपमा रकम पठाउन आइएमई लिमिटेडले भारतमा रेमिटेन्स सेवा शुरू गरेको छ। भारतीय रेमिटेन्स सेवा प्रदायक कम्पनी अक्सिजनसँगको सहकार्यमा आइएमईले सो सेवा शुरू गरेको हो। यसबाट नेपाली कामदारहरुले अक्सिजनका शाखा तथा सेन्टरहरुबाट नेपालमा रकम पठाउन सकिने छ।

नेपालमा आइएमईले देशभर छरिएर रहेका आफ्ना शाखा तथा सेन्टरहरुबाट पनि रकम भुक्तानीको सुविधा दिंदै आएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालका तर्फबाट आइएमई र भारतको तर्फबाट अक्सिजनको नेतृत्वले भारतबाट नेपालमा रेमिटेन्स कम्पनी मार्फत रकम पठाउन सेवा आरम्भ भएको घोषणा गरेको थियो।
सो कार्यक्रममा अक्सिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रमोद सक्सेना र कार्यकारी निर्देशक आशुतोष श्रीवास्तवको उपस्थिति थियो। आइमएईका तर्फबाट प्रबन्ध निर्देशक हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा ग्लोबल आइएमई बैंकका सिनियर डेपुटी सिइओ जनक शर्मा पौडेलको पनि सहभागिता थियो।

सो अवसरमा आइएमईका सिइओ सुमन पोखरेलले भारतमा रहेका नेपाली कामदारले अब आफ्नो आम्दानी सुरक्षित तवरले नेपाल पठाउन सक्ने बताउनुभयो । आइएमईको उक्त सेवाले भारतबाट नेपाल भित्रिने रकमलाई बैधानिक बाटोबाट ल्याउन सहयोग पुग्ने समेत उहाँले जानकारी दिनुभयो। त्यसैगरी अक्सिजनका अध्यक्ष प्रमोद सक्सेनाले भारतमा रहेका ५० लाख को हाराहारीमा रहेका नेपाली कामदारलाई घर दैलामा पुगेर रेमिटेन्स पठाउने सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो। अक्सिजन भारतमा रेमिटेन्सको कारोबार गर्ने ठूलो कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्