पाकिस्तानमा विमान दुर्घटना, ४० को मृत्यु



इस्लामावाद, (एजेन्सी)

पाकिस्तान इन्टरनेसनल एयरलायन्स (पीआईए) को ४० जनाभन्दा बढी व्यक्ति सवार एउटा विमान बुधबार पाकिस्तानको उत्तरी भागमा दुर्घटनाग्रस्त भएको छ। चित्रलबाट राजधानी इस्लामावादका लागि उडेको केही समयपछि कल साइन पिके–६६१ बोकेको उक्त विमानको कन्ट्रोल टावरसँगको सम्पर्कविच्छेद भएको सो एयरलायन्सद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नागरिक उड्डयन निकाय (सीएए) का प्रवक्ताले दुर्घटनाग्रस्त विमानको भग्नावशेष अझै फेला नपरेको बीबीसीलाई जनाकारी गराएका छन्। राष्ट्रिय ध्वजावाहक पीआईएको विगतमा पनि थुप्रै सुरक्षा त्रुटीहरु फेला परेका थिए।
सन् २००६ मा भएको पीआईए विमान दुर्घटनामा ४४ जना व्यक्तिको ज्यान गएको थियो। स्थानीय सञ्चारमाध्यमहरुले इस्लामावाददेखि करिब ७० किमि उत्तरमा पर्ने हाभेलियन क्षेत्रमा सो विमान खसेको जनाएका छन्। स्थानीय समयअनुसार अपराह्न ३ बजे चित्रलबाट उडेको सो विमान ९० मिनेटपछि अर्थात् गन्तव्यमा पुग्नु केही समयअघि सम्पर्कविहीन भएको सञ्चारमाध्यमले जनाएका छन्।

पूर्व चर्चित पप गायक इस्लामिक धार्मिक नेता बन्न पुगेका जुनाइद जमसेद र उनकी पत्नी पनि यात्रुको सूचीमा रहेको पाकिस्तानको लोकप्रिय निजी न्युज च्यानल जियो टेलिभिजनले जनाएको छ। पाकिस्तानी सेनाले दुर्घटना स्थलतर्फ फौज र हेलिकोप्टर पठाइसकेको जनाएको छ। सुरक्षा कमजोरीकै कारण युरोपेली संघले सन् २००७ मा युरोपमा पीआईएको उडानमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्