ऊर्जा समस्या र समाधानका उपाय



(के.बी. बस्नेत) ऊर्जाका लागि विकासोन्मुख राष्ट्रहरूमा खास गरेर दाउरा, भुस, गुइँठा आदि प्रचूर मात्रामा प्रयोग गरिन्छ । साधारणतया विकासोन्मुख मुलुकमा आजसम्म पनि ऊर्जाका लागि झन्डै ८५ प्रतिशत वनजंगलमा नै भर पर्नुपर्ने बाध्याता छ । वास्तवमा इन्धनका लागि विश्वका धेरै देश आत्मनिर्भर छैनन् । उदाहरणका लागि अमेरिकाजस्तो विकसित मुलुकमा सम्पूर्ण इन्धनको खपतको अन्दाजी २० प्रतिशत इन्धन अन्य राष्ट्रहरूमा निर्भर हुनुपर्दछ भने जापानमा चाहिने कुल इन्धनको ९० प्रतिशत अरु देशबाट भित्र्याइन्छ ।

विशेषतः सन् १९७७ को अरब–इजरायल युद्धपछि विश्वका सबैजसो देशमा इन्धनको समस्याले भीषण रुप लिएको छ । बढ्दो इन्धनको समस्यालाई दृष्टिगत गरी केही दशकअघि केन्याको राजधानी नैरोबीमा ऊर्जाको सम्बन्धमा एक अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । संयुक्त राष्ट्रसंघको अनुरोधमा आयोजना गरिएको उक्त सम्मेलनमा झन्डै १ सय ५० मुलुकका प्रतिनिधिले सौर्य, वायुलगायत १४ नवीन इन्धन स्रोतहरूका सम्बन्धमा व्यापक छलफल गरेका थिए । यसै गरी संयुक्त राज्य अमेरिकाको लसएन्जेलसमा केही वर्षअघि सम्पन्न गरिएको सम्मेलनमा पनि विभिन्न राष्ट्रका प्रतिनिधिबाट लघुऊर्जाका स्रोतहरूको सम्बन्धमा विचार–विमर्श भएको थियो । परन्तु ती सम्मेलनहरूबाट विकासशील मुलुकहरूलाई ठोस फाइदा हुन भने सकेन ।

आज इन्धनको अभाव महसुस भएकोले विश्वका केही राष्ट्रहरू उपयुक्त इन्धनको विकासका लागि विशेषरुपले आकृष्ट भएका छन् । यसै सन्दर्भमा बेलायत, फ्रान्सजस्ता विकसित देशहरूमा आणविक शक्तिबाट झन्डै ५० प्रतिशत इन्धन प्राप्त गर्ने योजना गरिएको छ भने केही राष्ट्रहरूले कोइला तथा वृक्षहरूबाट अधिकतम मात्रामा इन्धन प्रयोगमा ल्याउने दृढता व्यक्त गरेका छन् । यसै गरी मित्रराष्ट्र चीनमा सूर्य तथा फोहोरमैलाबाट ऊर्जा निकाल्ने काममा केही प्रगति भएको छ ।

साधारणतः संसारका अधिकांश मुलुकहरू विकासको पथमा बामे सर्न थालेका छन् । त्यसैले यी देशहरूमा नयाँ इन्धनका स्रोतहरूको विकास गर्नु कठिन कार्य भएको छ । इन्धनका अन्य स्रोतहरूको कमीले गर्दा यी राष्ट्रका मानिस अधिक मात्रामा दाउरा प्रयोग गर्न विवश भएका छन् । फलतः यी देशहरूमा वन सम्पदा यति धेरै मात्रामा नोक्सान भएको छ कि झन्डै ९ करोड मानिस वनजंगलको अभावबाट धेरै पीडित छन् भने ८ करोड मानिस आफ्नो देशमा विद्यमान रुखहरू अनियन्त्रित तरिकाबाट विनाश गर्दै छन् । अतः आज यी देशहरूमा ऊर्जाको अभाव मात्र महसुस नभई वातावरणमा समेत नराम्रो असर परेको छ ।

नेपालमा पनि अन्य विकासोन्मुख राष्ट्रहरूमा जस्तै ऊर्जाको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । वास्तवमा हाम्रोजस्तो प्रशस्त नदीनाला भएको देशमा जलविद्युत्बाट नै आवश्यक ऊर्जा प्राप्त गर्न सफल हुनुपर्ने थियो, तर यसो हुन सकेको छैन । यसैले हालसम्म हाम्रो देशको कुल जनसंख्याको थोरै प्रतिशतले मात्र जलविद्युत् सुविधा प्राप्त गरिरहेका छन् । यसमा पनि अधिकांश नगरवासी छन् । आवश्यक ऊर्जाका लागि यहाँका अधिकांश र खास गरेर ग्रामीण क्षेत्रका मानिस आजसम्म पनि दाउरामा निर्भर छन् । दाउराबाहेक इन्धनको अर्काे स्रोत नभएकोले यहाँ विद्यमान वनजंगलको तीव्ररुपले विनाश भइरहेको छ ।

भौगोलिक भूबनोट, आर्थिक एवं प्राविधिक कारणले गर्दा सरकारले देशका सम्पूर्ण भागमा विद्युत् सुविधा उपलब्ध गराउन सक्ने अवस्था छैन । त्यसैले स्थानीयस्तरमा उपलब्ध स्रोत–साधनको परिचालनबाट सहज ढंगमा उत्पादन गर्न सकिने नवीकरणीय ऊर्जा प्रविधि बहुसंख्यक जनता गरिबीको रेखामुनि रहेका ग्रामीण क्षेत्रमा बढी फलदायी हुन्छ । नेपालको नवीकरणीय ऊर्जा विकासका लागि विगतमा विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सहयोग गर्दै आएका छन् ।

यसै गरी केही दातृ संस्थाहरूले हाम्रो देशमा खास गरेर ग्रामीण क्षेत्रमा विद्यमान ऊर्जाको समस्यालाई क्रमिकरुपले न्यून गर्न नवीकरणीय ऊर्जाको विकासमा सहयोग जुटाउन निकै चासो देखाएका छन् । विश्वका केही विकसित राष्ट्रहरू नवीन ऊर्जाका स्रोतहरू परिचालन गर्न सक्षम भए पनि विकासोन्मुख राष्ट्रहरूमा विभिन्न कठिनाइले ऊर्जाका लागि नयाँ प्रविधि विकास गरी तुरुन्त प्रयोगमा ल्याउन निकै गाह्रो छ । त्यसैले यी देशहरूमा हालसम्म प्रचलनमा आएका ऊर्जाको खपत यथोचित परिपाटीबाट नियन्त्रण गर्न सके ऊर्जाको समस्या केही मात्रामा भए पनि कम हुने कुरा नकार्न सकिँदैन ।

आज विश्वका धेरैजसो मुलुकमा र खास गरेर विकासोन्मुख मुलुकहरूमा वनजंगल फाँडी नयाँ बस्ती बसाउने क्रम जारी छ । यी देशहरूमा पुनर्वासको सुव्यवस्था गर्न सके यहाँका वनजंगलको विनाश न्यून भई दाउराबाट प्राप्त हुने ऊर्जा सञ्चित हुने कुरामा दुईमत नहोला । यसबाहेक यी देशहरूमा भइराखेका रुखको सुरक्षा गर्नुको साथसाथै वृक्षरोपण कार्यक्रमलाई ठोस कार्यमा परिणत गर्न सके विद्यमान ऊर्जाको संकट कम हुनेछ ।

कुनै पनि देशमा सर्वतोमुखी विकास भएको छ भने त्यहाँ जुनसुकै समस्या समाधान गर्न कठिन हुँदैन । किनभने यस्तो अवस्थामा कुनै पनि समस्याको समाधान गर्न नयाँ ज्ञान तथा सीपको विकास हुन्छ । त्यसैले आजका विकासोन्मुख तथा अति कम विकसित देशहरूको सर्वाङगिण विकासका लागि तन, मन र धन लगाउन आवश्यक छ । यसो गर्न सकेमा भविष्यमा यी देशहरू ऊर्जाको समस्या समाधान आफैँ गर्न सक्षम हुनसक्ने कुरा विवादरहित छ ।

प्रतिक्रिया दिनुहोस्