विज्ञान प्रविधिको उपयोग र नास्ट



(राजेशमान के.सी.)

कुनै पनि मुलुकको समग्र विकासका लागि विज्ञान प्रविधिको विकास हुनु अति आवश्यक मानिन्छ । विज्ञान प्रविधिले मुलुकको सामाजिक, आर्थिक विकासमा अहम् भूमिका निर्वाह गरेको हुन्छ । विगत केही दशकदेखि विज्ञान प्रविधिको समुचित विकास र प्रयोगले गर्दा विश्वका धेरै मुलुक आफ्नो प्राकृतिक र मानवीय स्रोतहरूको अधिकतम उपयोगद्वारा जनताको जीवनस्तर माथि उकास्दै उन्नतिको शिखरमा पुग्न सफल भएका छन् । टाढाको कुरा नगरौं, हाम्रै दुई छिमेकी मुलुक चीन र भारत पनि आज विज्ञान प्रविधिको यथोचित प्रयोगद्वारा सामाजिक तथा आर्थिक विकासको दिशामा प्रतिस्पर्धात्मकरुपमा अगाडि बढिरहेका छन् । त्यसैले हामीले पनि आफ्नो मुलुकको उन्नति र विकासका लागि विज्ञान प्रविधिको विकासमा यथेष्ट ध्यान दिनुपर्ने खाँचो देखिएको छ ।

तर विडम्बनाको कुरा के छ भने, विज्ञान प्रविधि क्षेत्रको यति व्यापक महत्व र भूमिका रहँदारहँदै र जनताको आर्थिक, सामाजिक जीवनस्तर उकास्न गहन योगदान पुर्याउन सक्ने स्पष्ट हुँदाहुँदै राज्यबाट यसले उचित प्राथमिकता पाउन सकिरहेको छैन । फलस्वरुप नेपालले विज्ञान प्रविधिको अधिकतम उपयोग गरी हाल गम्भीर समस्याको रुपमा देखा परिरहेको गरिबी न्यूनीकरण गर्न एवम् जनताको आर्थिक स्तर उकास्न यसको प्रयोग समुचितरुपमा गर्न सकिरहेको छैन । जबकि विज्ञान प्रविधिको समुचित विकासले नै गरिबी निवारण गर्न, कृषि व्यवसायको आधुनिकीकरण गरी जनताको जीवनस्तर माथि उकास्न र वातावरणीय विनाशलाई रोक्न वा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा घाम जत्तिकै छर्लंग भइसकेको छ ।

निश्चय पनि विज्ञान र प्रविधिसम्बन्धी अध्ययन–अनुसन्धान भनेको छोटो समयमा पूरा हुने कुरा होइन । यसका लागि निकै लामो समय, श्रम र लगानीको आवश्यकता पर्दछ । त्यसमाथि विज्ञान प्रविधिको क्षेत्रमा राज्यले गर्ने लगानी अत्यन्त कम रहेको कतिपय बुद्धिजीवीको धारणा आफ्नो ठाउँमा छँदै छ ।

तर एउटा यथार्थ र व्यावहारिक कुराचाहिँ के पनि हो भने, नेपालजस्तो गरिब मुलुकका लागि राज्यले आफ्नो राष्ट्रिय बजेटको ठूलो अंश केवल विज्ञान प्रविधिको क्षेत्रमा मात्र भनेर छुट्याउन सक्तैन । त्यसैले यसका लागि सामान्य नेपाली जनताको आधारभूत आवश्यकीय वस्तु परिपूर्ति गरी उनीहरूको जीवनस्तर माथि उकास्न सघाउ पुग्ने क्षेत्रहरू– कृषि र कृषिमा आधारित आधुनिक उपकरण, जैविक प्रविधिको संरक्षण र विकास, वन र वनस्पतिजन्य औषधिको पहिचान एवम् प्रशोधन, वैकल्पिक ऊर्जा स्रोत– सौर्यऊर्जा, वायु ऊर्जा, बायो ग्यास आदि क्षेत्रमा बढी केन्द्रित रहेर आफ्नो लगानी बढाउन सकियो भने यसबाट देशको सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने ठहर विज्ञहरूको रहेको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा कृषिक्षेत्रलाई आधुनिकीकरण तथा वैज्ञानिक कृषि प्रणालीलाई बढी महत्व दिइनु आवश्यक हुन्छ । यसका लागि स्थानीय कच्चा पदार्थलाई नै अधिकतम प्रयोग गर्न सकिने किसिमको निर्माण क्षेत्रको प्रविधिलाई बढावा दिनुपर्दछ । त्यसपछि वैकल्पिक ऊर्जास्रोत सौर्यशक्तिलाई अधिकतम उपयोग गर्ने तथा प्रशोधन वा अर्धप्रशोधन, चिस्याउने, सुकाउने, संरक्षण गर्नेजस्ता विज्ञान प्रविधिको माध्यमबाट गर्नुपर्ने अन्य कार्यहरूलाई पनि प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ ।

वर्तमान समयलाई सूचना प्रविधिको युग पनि भनिन्छ । विश्वमा एकप्रकारको नयाँ क्रान्ति नै ल्याएको छ सूचना प्रविधिले । त्यसैले विज्ञान प्रविधिको माध्यमबाट मुलुकको समग्र विकासका लागि यस क्षेत्रको अधिकतम उपयोगतर्फ यथोचित ध्यान पुर्याउनु अति आवश्यक देखिन्छ । खासगरी मुलुकमा विद्युतीय शासन पद्धतिलाई प्रभावकारीरुपमा लागू गर्न विज्ञान प्रविधिको प्रयोग आवश्यक मात्र नभई अपरिहार्य नै देखिन्छ ।

विज्ञान प्रविधिको सन्दर्भमा चर्चा गर्दा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को स्थापना वि.सं. २०३९ मंसिर २० गते भएको हो । नास्टले मुख्यतया मुलुकमा विज्ञान–प्रविधिको विकासका निमित्त उपयुक्त वातावरणको सृजना गर्ने, राष्ट्रका लागि आवश्यक विज्ञान–प्रविधिसम्बन्धी नीति एवम् योजना तर्जुमा गर्ने र वैज्ञानिक तथा प्राविधिक क्षमताको अभिवृद्धिमा उत्प्रेरकको भूमिका निर्वाह गर्ने गरेको छ । नास्टका गतिविधिहरू मुख्यतः विज्ञान प्रविधिसम्बन्धी क्षेत्रकै अध्ययन र अनुसन्धानमा केन्द्रित छन् । नास्टद्वारा सञ्चालित यस्ता अनुसन्धानमूलक गतिविधिहरूमा वैकल्पिक ऊर्जा जस्तै– सौर्यऊर्जा, वायुऊर्जा, हरित ऊर्जा, बायो ग्यास, औषधिजन्य वनस्पति, प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि आदि रहेका छन् ।

तथापि हाम्रो जस्तो अल्पविकसित मुलुकको हकमा भने आफ्नै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरी विज्ञान प्रविधिको विकासद्वारा नयाँ आर्थिक समृद्धितर्फ अग्रसर रहनुपर्ने खाँचो देखिएको छ । हाम्रो जस्तो भौगोलिक विकटता र प्राकृतिक विविधता भएको मुलुकमा विश्वबजारबाट आयातीत सबै प्रविधि उपयुक्त र उपलब्धिमूलक हुन्छ भन्न सकिँदैन । तिनलाई मुलुकको भौगोलिक स्थिति र वातावरण सुहाउँदो किसिमले परिवर्तन एवम् परियोजनपरक बनाउनु आवश्यक हुन्छ । जुन राष्ट्रको विज्ञान र प्रविधिको क्षमतामा नै निर्भर रहने कुरा हुन् ।

देशमा विद्यमान गरिबी, बेरोजगारी र दक्ष जनशक्तिको अभावलाई अन्त्य गरी सामाजिक–आर्थिक विकासका गतिविधिलाई अपेक्षितरुपमा अघि बढाउनुका साथै कृषि व्यवसायलाई आधुनिकीकरण एवम् व्यवसायीकरण गर्नका लागि समेत विज्ञान प्रविधिको विकासतर्फ राज्यको ध्यान पुग्नु आवश्यक मात्र होइन, अपरिहार्य नै देखिन्छ ।

(लेखक नास्टमा प्रवद्र्धन अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्