जयललिताको पार्थिव शरीर मरीना बिचमा समाधिष्ठ



चेन्नई, (एजेन्सी)
तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको पार्थिव शरीरलाई मरीना बिचस्थित एमजीआरको चिहाननजिकै समाधिष्ठ गरियो।

जयललिताका धर्मपुत्र सुधाकरणले शशिकलाको निगरानीमा उनको अन्तिम संस्कार गरे। उनको पार्थिव शरीरलाई राजाजी हलबाट मरीना बिचसम्म पुर्याउने क्रममा उनको अन्तिम यात्रामा लाखौं संख्यामा नागरिक सहभागी भए। उक्त यात्रामा देशका वरिष्ठ नेताहरू सहभागी रहेको जनाइएको छ।

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको ह्दयघातबाट सोमबार राति साढे ११ बजे निधन भएको थियो। भारतिय झण्डा ओढाइएको उनको पार्थिव शरीर सर्वसाधारणलाई दर्शन गराउनका लागि राजा हलमा राखिएको थियो।

तमिलनाडुमा ४ पटक मुख्यमन्त्री बनिसकेकी जयललितालाई त्यहाँका जनताले सम्मानमा अम्मा अर्थात् आमा भनेर सम्बोधन गर्छन्। उनको मृत्युपछि पनिरसेल्वम राज्यको मुख्यमन्त्री बनेका छन्।

दिवंगत मुख्यमन्त्रीलाई श्रद्धाञ्जलि दिन भारतका प्रधानमन्त्री नरेन्द्रमोदी तमिलनाडु पुगेका थिए। जयललिताको सम्मानमा केन्द्र सरकारले एकदिनको राजकीय शोकको घोषणा गरेको छ।

तमिलनाडुमा ७ दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ भने सबै शिक्षण संस्था ३ दिनका लागि बन्द गर्ने घोषणा गरिएको छ।

पनिरसेल्वम नयाँ मुख्यमन्त्री
तमिलनाडुको नयाँ मुख्यमन्त्रीका रूपमा ओ पनिरसेल्वमले शपथग्रहण गरेका छन्। तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएपछि उक्त पदका लागि पनिरसेल्वमलाई चयन गरिएको हो।

जयललिता अस्वस्थ हुँदा उनको अनुपस्थितिमा उनले नै उक्त जिम्मेवारी सम्हाल्दै आइरहेका हुन्। यसअघि दुई पटक जयललिता जेल परेको अवस्थामा पनि राज्यको जिम्मेवारी उनले सम्हालिसकेका छन्।

पनिरसेल्वमलाई जयललितको सबैभन्दा निकट सहयोगीका रूपमा लिइन्छ। ६५ वर्षीय पनिरसेल्वमका बारेमा सत्ता वरिपरि बस्नेहरूबीच धेरै कुरा हुने गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै पनिसेल्वमले पनि चिया बेचेका थिए भने उनका पिता पनि पार्टीका बफादार थिए। पनिरसेल्वमका पिता अन्नाद्रमुकका संस्थापक स्वर्गीय एमजी रामचन्द्रनका लागि काम गरेका थिए।

अहिले पनि पनिरसेल्वमका भाइले पेरियाकुलममा चिया पसल चलाइरहेका छन्। यद्यपि उनको परिवारको पेसा खेतीपाती नै हो।

पनिरसेल्वमले चिया पसलबाट समय निकालेर आफ्नो स्नातक पढाइ पूरा गरेका थिए। पनिरसेल्वम पहिलो पटक शशिकलाका नातेदार टिटिके दिनाकरणको माध्यमबाट जयललिताको सम्पर्कमा आएका थिए। मुख्यमन्त्रीको पदमा रहँदा पनि पनिरसेल्वम जयललिता बस्ने गरेको कुर्सीमा कहिल्यै पनि नबसेको कुरा चर्चामा रहेको थियो।

पनिरसेल्वम तमिलनाडुमा राम्रो प्रभाव राखेको थेवर समुदायका हुन्। उनले राज्य विधानसभामा थेनी जिलाका बोडिनयाकनुर निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका छन्।

अभिनेत्रीदेखि अम्मासम्मको यात्रा
तमिलनाडुमा अत्यन्त लोकप्रिय भएरै अम्मा भएर चिनिएकी जयललिताको जन्म मैसुरको मान्डया जिलाको मेलुरकोट गाउँमा सन् १९४८ फेब्रुअरीमा भएको हो। उनी दुई वर्षकी हुँदा उनका पिताको मृत्यु भएको थियो।

पढाइमा मेधावी जयललिता वकिल भन्न चाहन्थिन्। उनकी आमा वेदवल्लीले तमिल सिनेमामा काम गर्न शुरू गरेकी थिइन्। उनले आफ्नो नाम परिवर्तन गरी सन्ध्या राखेकी थिइन्। जयललिताले आफ्नी सानीआमा र हजुरबुबा–आमासँग बसेर बंगलुरुको बिसप कटन स्कुलमा पढ्न थालिन्। सानीआमाको विवाहपछि उनी आफ्नी आमासँग चेन्नइमा गएकी थिइन्।

पढाइमा राम्रो भए पनि उनकी आमाले उनलाई फिल्ममा काम गर्न बाध्य पारेकी थिइन्। त्यसपछि उनको पहिलो कन्नड फिल्म आएपछि उनलाई एकपछि अर्को गर्दै फिल्म आउन थाले। उनले दक्षिण भारतमा त्यतिबेलाका करिब सबै सुपरस्टार शिवाजी गणेशन जयशंकर, राजकुमार, एनटीआर अर्थात् एनटी रामारा र एमी रामचन्द्रनसँग काम गरेकी थिइन्।

शिवाजी गणेशनसँग खेलेको तमिल फिल्म ‘पट्टीकाडा पट्टनामा’का लागि उनलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो। एमजी रामचन्द्रन राजनीतिमा आएपछि जयललितालाई पनि उनले आफूसँगै राजनीतिमा ल्याए। सन् १९८२ मा उनले अन्ना द्रमुकको सदस्यता ग्रहण गरिन् र सन् १९८३ मा पार्टी प्रचार प्रमुख र विधायक पनि बनिन्।

उनले पहिलो चुनाव तिरुचेन्दुरको सिट जितेकी थिइन्। सन् १९८४ मा उनलाई एमजी रामचन्द्रनले राज्यसभामा पठाए। फिल्ममा जस्तै राजनीतिमा पनि जयललिताले एकपछि अर्को सफलताका सिंढी चढ्दै गइन्।

सन् १९८८ मा एमजी रामचन्द्रनको निधनपछि अन्ना द्रमुक दुई हिस्सामा विभाजन भयो। एउटा हिस्सामा एमजीआरकी पत्नी जानकीले नेतृत्व गरेकी थिइन् भने अर्को अल इन्डिया द्रविड मुनेत्र कडगम (एआईएडीएमके) जयललिताले। राष्ट्रपति शासनपछि सन् १९८९ मा भएको विधानसभाको चुनावमा जयललिताको समूहले २७ सिट जित्यो र उनी विपक्षी नेता बनिन्। सन् १९८९ मार्च २५ मा तमिलनाडुको विधानसभामा भएको एउटा घटनापछि जयललिताप्रति सहानुभूति अझ बढ्यो।

सत्तापक्ष अर्थात् डीएमकेका सदस्य र अन्ना द्रमुकका सदस्यबीच सदनमा हात हालाहालका क्रममा जयललितामाथि अभद्र व्यवहार भएको थियो। आफ्नो च्याटिएको सारीसँग जयललिता विधानसभाबाट बाहिर आएकी थिइन्। यस घटनाका लागि नागरिकहरूले सत्तापक्षको धेरै आलोचना गरेका थिए। त्यो दिन उनले सदनबाट बाहिर निस्कने क्रममा आफू मुख्यमन्त्री बनेर मात्र सदनमा फर्कने अन्यथा नआउने बताएकी थिइन्। सन् १९९१ मा राजीव गान्धीको हत्यापछि भएको चुनावमा जयललिताले कांग्रेससँग चुनावी सम्झौता गरिन् र २ सय ३४ मा २ सय २५ सिट जितेकी थिइन् र उनी मुख्यमन्त्री बनिन्। अन्ना द्रमुकका मन्त्री, सांसद, विधायक, नेता र समर्थक उनलाई ‘अम्मा’ अर्थात् आमा र पुरातची थलाइवी अर्थात् क्रान्तिकारी नेताका नामले सम्बोधन गर्छन्।

प्रतिक्रिया दिनुहोस्