रामोसको गोलले रियल जोगियो



लन्डन, (एजेन्सी) सर्जियो रामोसले बराबरी गोल गरेपछि रियल मेड्रिड हारबाट जोगिएको छ।
स्पेनिस ला लिगाअन्तर्गत यस सिजनको पहिलो इल क्लासिकोमा बार्सिलोना र रियल मेड्रिडले बराबरी खेल्दा सर्जियो रामोसले अन्तिम मिनेट बाँकी छँदा गोल फर्काएका थिए।

बार्सिलोनाको मैदान नोउ क्याम्पमा शनिबार राति भएको उक्त खेलमा लिग लिडर रियल मेड्रिडले बार्सिलोनालाई १–१ को बराबरीमा रोकेको हो। गोलरहित बराबरी भएको उक्त खेलको पहिलो हाफसम्म रियल मेड्रिड हावी भए पनि गोल भने गर्न सकेको थिएन। खेलमा बार्सिलोनाले अग्रता लिए पनि त्यो अन्तिम समयसम्म टिकाउन सकेन। खेलको ५३औं मिनेमा नेयमारको फ्रिकिकलाई लुइस स्वारेजले हेडमार्फत् गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

खेलको अन्तिम समयसम्म बार्सिलोनाले रियल मेड्रिडलाई गोल गर्नबाट रोकेको थियो। तर, ९०औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। रामोसले लुका मोड्रिकको फ्रिकिकलाई हेडमार्फत् गोल गरेका हुन्। रामोसको गोलअघि क्रिस्टियानो रोनाल्डोले गोल गर्ने सुन्दर मौका बनाए पनि सफल भने हुन सकेनन्।

बराबरीपछि लिग लिडर रियल मेड्रिडले बार्सिलोनासँग ६ अंकको दूरी कायमै राखेको छ। रियलको १४ खेलबाट ३४ तथा दोस्रो स्थानको बार्सिलोनाको समान १४ खेलबाट २८ अंक छ। रामोसले अन्तिम समयको गोलबाट रियलको अपराजित यात्रा ३३ खेलमा पुर्याए। बार्सिलोना लिगका पछिल्ला तीन खेलमा जितविहीन छ।

ला लिगाअन्तर्गत राति भएका अरू खेलमा एथ्लेटिको मेड्रिड स्पानियोलसँग तथा भियारियल लेगानेससँग गोलरहित बराबरीमा रोकियो। यस्तै ग्रानाडाले सेभियालाई २–१ ले हरायो।

प्रतिक्रिया दिनुहोस्