होलान्डद्वारा दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा नउठ्ने घोषणा



पेरिस, (एजेन्सी)

फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ होलान्डले राष्ट्रपति पदको अर्को कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका छन्। उनको यस घोषणाले सबैलाई अचम्मित तुल्याएको छ।

टेलिभिजनमा प्रत्यक्ष प्रसारित सम्बोधनका क्रममा समाजवादी नेता भने– ‘मैले दोस्रोपटक जनादेश हासिल गर्नका लागि दाबेदार नहुने निर्णय गरेको छु।

सर्वेक्षणमा फ्राँस्वाँ होलान्डको लोकप्रियता घटेको छ। फ्रान्सको इतिहासमा पदमा रहँदै पुनः चुनाव नलड्ने घोषणा गर्ने उनी पहिलो राष्ट्रपति हुन्। दोस्रो चुनाव लड्नुको जोखिमबाट आफू अनभिज्ञ नभएको पनि उनले बताए। साथै उनले अति दक्षिणपन्थी नेसनल फ्रन्टको खतराबाट पनि सावधान रहन चेतावनी दिए।

उक्त घोषणापछि पहिलो प्रतिक्रिया दिने क्रममा पूर्व वित्तमन्त्री इम्यानुयल म्याक्रोनले त्यसलाई राष्ट्रपतिको साहसिक निर्णय भएको बताए।

म्याक्रोन राष्ट्रपति पदका लागि भइरहेको चुनावमा एउटा निर्दलीय नरमपन्थी उम्मेदवारका रूपमा उठेका छन्। उनले केही महिनाअगाडि मात्रै सरकारबाट राजीनामा दिएका थिए।
होलान्डले चुनाव लड्न अस्वीकार गरेपछि समाजवादी पार्टीले जनवरीमा पार्टीको आधिकारिक उम्मेदवार चयन गर्नेछ। उक्त पार्टीको उम्मेदवारमा प्रधानमन्त्री म्यानुयल वाल्स लोकप्रिय नेताका रूपमा आउन सक्ने अनुमान गरिएको छ। गत हप्तामात्रै उनले उम्मेदवार बन्नका लागि सहमति दिएका थिए।

गत हप्ता फ्रान्सका ४० लाख मतदाताले मध्यदक्षिणपन्थी रिपब्लिकनको प्रतिनिधित्वका लागि पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फियोलाई चयन गरेका थिए। फ्रान्समा राष्ट्रपति पदको चुनावका लागि आगामी वर्ष अप्रिल र मेमा दुई चरणको चुनाव हुनेछ।

ताजा चुनाव सर्वेक्षणले अप्रिलको पहिलो चरणको चुनावमा उनी विजयी हुने र अति दक्षिणपन्थी नेसनल फ्रन्टका उम्मेदवार मरिन ली पेनलाई उनले निक्कै पछाडि पार्ने पूर्वानुमान गरेको छ।

सर्वेक्षणले यदि म्यानुयल वाल्स समाजवादी पार्टीको उम्मेदवार बनेमा उनी तेस्रो स्थानमा आउने र फियो जित्न सक्ने आकलन गरिएको छ। होलान्डले भने– ‘राष्ट्रपतीय कार्यकालको अन्तिम समयसम्म देशको नेतृत्व गर्नु नै मेरो एकमात्र कर्तव्य हुनेछ।

सन् २०१५ मा होलान्डको राष्ट्रपति पदमा पेरिस, नीस र अन्य स्थानमा भएका जिहादी अतिवादी आक्रमणको धब्बा लागेको थियो। फ्रान्समा थप हमला हुने आशंकाले संकटकाल लगाइएको छ। मध्यदक्षिणपन्थी राष्ट्रपति निकोलस सार्कोजीको शासनकालमा अशान्त स्थितिलाई सामान्य बनाएपछि होलान्ड सत्तामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्