ट्रम्प र सरिफबीच टेलिफोन वार्ता ट्रम्पद्वारा सरिफ र पाकिस्तानको प्रशंसा



वासिङ्टन, (एजेन्सी)

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच टेलिफोन वार्ता भएको छ। पाकिस्तानको प्रेस सूचना निकायले बुधबार एउटा विज्ञप्ति जारी गरी उक्त फोनवार्ताका बारेमा जानकारी दिएको थियो।

नवाज सरिफले ट्रम्पलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिनका लागि बुधबार फोन गरेका थिए। सरिफको पार्टी पीएमएल (एन)को फेसबुक पेजमा जारी गरिएको पोस्टमा वार्तामा ट्रम्पको भनाइलाई उदेधृत गरिएको छ– तपाईंको नसल्टिएका समस्या सल्टाउनका लागि तपाईंले जे खोजेको त्यो भूमिका निभाउन म तयार छु। यो मेरा लागि सम्मानको कुरा हो र म निजीरूपमा यो गर्नका लागि तयार छु। मलाई तपाईं कुनै पनि बेला फोन गर्न सक्नुहुनेछ, २० जनवरीमा मैले कार्यभार सम्हाल्नुअगाडि पनि।

ट्रम्पले सरिफको प्रशंसा गर्दै उनले अत्यन्त राम्रो काम गरिरहेको र त्यो सबैतिर देखिएको बताएका थिए। ट्रम्पले पाकिस्तान सानदार देश भएको र पाकिस्तानका नागरिक सबैभन्दा समझदार भएको पनि बताएका थिए।

सरिफले ट्रम्पलाई पाकिस्तान आउन निमन्त्रणा दिएको र त्यसको जवाफमा ट्रम्पले पाकिस्तान भ्रमण गर्न मन पराएको र पाकिस्तानका नागरिकसँग भेट्न चाहेको बताएका थिए। पाकिस्तानको तर्फबाट दुवैको कुराकानीको विवरण बाहिर आएपछि केही घण्टापछि अमेरिकामा ट्रम्पको टोलीका तर्फबाट पनि उक्त वार्ता उपयोगी भएको बताए।

अमेरिकामा जारी विज्ञप्तिमा भनिएको छ– ‘नवनिर्वाचित राष्ट्रपतिले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँग लामो र मजबुत निजी सम्बन्ध बनाउन अपेक्षा गरेको छ।’ विज्ञप्तिमा ट्रम्पले सरिफ र पाकिस्तानको ठूलो प्रशंसा गरेको उल्लेख छ।

यद्यपि पाकिस्तानका मुद्दामा ट्रम्पले सन् २०११ मा गरेको टिप्पणी यसको ठीक विपरीत थियो। त्यतिबेला ट्रम्पले ट्विटरमा पाकिस्तानको आलोचना गरेका थिए। ट्रम्पले भनेका थिए– ‘पाकिस्तान हाम्रो मित्र होइन। हामीले उनलाई अर्बौं डलर दिएका छौं तर हामीले त्यसको बदलामा मात्र धोका र अपमान पायौं।’

प्रतिक्रिया दिनुहोस्