किरात धर्मगुरु आत्मानन्द र उँधौली पूजा



(कमला आङदेम्बे)

किरात धर्मावलम्बीहरूको धर्मगुरु आत्मानन्द लिङ्देनको जन्म २०११ मंसिर १८ गते इलामको इभाङ–५, चुक्चीनाम्बाको अगौटे गाउँमा भएको हो । सोह्रौं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको नाति आत्मानन्दलाई आमाको दूध नखाएकाले गाईको दूध खुवाएर बचाएको हो । उहाँ शिशु छँदै आमा दोस्रो विवाह गरी गएकीले बजू जोगमायाको काखमा हुर्कनुभयो । मद–मांस जन्मसिद्ध सेवन नगरेका ज्योतिषी नाम सोमबहादुर नाबालक अवस्थादेखि नै अर्काको आत्मा देख्ने आत्मादर्शी भएकाले आत्मा– आत्मेबाट आत्मानन्द कहलिएका बालक इलामको माई, देवमाई र महामाईको बीच त्रिवेणी फुल्लुगीं पुण्य भूमिमा सिद्ध गरी तागेरा निङ्वाभूमाङको साक्षात्कार दर्शन पाई आफ्नो अवतरणको शंखघोष गर्नुभएको हो ।

तागेरा निङ्वाभूमाङको दूत, मुहिगम अङसिमाङ फाल्गुनन्दको पुनः अवतारको रुपमा आधिकारिक घोषणा गरी किरात धर्मगुरुको आसनमा पदासीन हुन पुगी महागुरुको अपूरो कार्यलाई पूरा गर्न वाणी दिँदै आफ्नो अवतरणको अर्थसार दिनुभएको छ । ब्रह्माज्ञान प्राप्तिपश्चात् २०२७ भदौदेखि माघसम्म ६ महिना पाँच चेलाभुलाका साथ पुनः तपस्या बसी दुई–दुई पटक महासिद्धी शक्तिका ब्रह्माज्ञानी आत्मानन्द त्रिकालदर्शी कालान्तरमा त्रिकालज्ञ भनी प्रख्यात हुनुभयो ।

तपस्या, ध्यानी आत्मासाधकीले दुई–दुई पटक कुम्भकर्ण फक्ताङलुङ दर्शन, दक्षिणमा महासागरसम्म तीर्थव्रत गर्नुभएको गुरुको २०३२ साल माघ २३ गते पवित्रहाङ्मा साँवासँग देवविवाह गरी प्रणयबन्धनमा वाँधिई ६ पुत्र ६ सुपुत्री एक दर्जनका अभिभावक बन्नुभयो । अति महत्वपूर्ण क्षण २०५१ साल माघ ३ र ४ गते दुई दिन १००८ दियो कलश बालिएको दैविक विशिष्ट खुलामञ्चवाट दशौं हजार भक्तजनको बीचमा सार्वजनिकरुपमा विश्वका राजनीतिक, दैविक, धार्मिक, सांस्कृतिक, विश्वब्रह्माण्डमा घट्ने महाप्रलयजस्ता घटनाहरूको भविष्यवाणी गर्नुभयो ।

यस वाणीमा पृथ्वीको महाप्रलय, पुनःसृष्टि, भारत–पाकिस्तान युद्ध, भारत राज्य टुक्रिने, अमेरिकाको शक्ति घट्ने, युरोपियन राष्ट्रहरू चकनाचुर हुने, मानव विध्वंशकारी तेस्रो विश्वयुद्ध हुने, शक्तिशाली धर्महरू समाप्त हुने, महाभूकम्प आउने, सूर्यको ताप बढ्ने, हिमाल पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायब हुने, भयंकर महाअनिकाल हुने, शक्तिशाली राजाहरू समाप्त हुने, अन्तत्वगोत्वा ज्ञानीहरूको ज्ञान र धनीहरूको धन पनि हराउने आदि जनता, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय घटनाक्रमको लामो देववाणी बोल्नुभई आत्मदर्शी, आत्मज्ञानी, ब्रह्मज्ञानी, ज्ञानगुरु हुनुभएको छ ।

उहाँकृत मिसन– किरात धर्म तथा साहित्य उत्थान संघ अनि किरात चोःत्लुङ अङ्सिमाङ्गेन्ना सेवा मार्फत किरात धर्मदर्शन, संस्कृति, साम्जिक मुन्धुमहरू चीन, हङकङ, भारत, भुटान, बर्मा, युके अमेरिका, रुस र अरबियन मुलुकसम्म फैलिएको र सारा विश्वभर फैलाउने, २०६८ को राष्ट्रिय जनगणनामा ८,१८,१०६ जनाले किरात धर्म लेखाई राज्यको चौथौं दर्जामा स्थापित राष्ट्र धर्मगुरु राष्ट्रिय शक्तिको रुपमा स्थापित हुनुहुन्छ । उहाँको नेतृत्वमा २०५७ साल कार्तिक २४–२६ गते किरात धर्म अन्तर्राष्ट्रिय प्रथम महासम्मेलन, २०६७ चैत्र २१–२३ गते दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन त्रिदिवसीय रुपमा सम्पन्न भेलाले सातबुँदे काठमाडौं घोषणापत्र जारी गरी संसारसामु किरात धर्मको प्रकाश पार्न सफल हुनुभएको छ ।

धर्मगुरुको मूल उद्देश्य मानवमोक्ष, शान्ति र मानव एकतामा आधारित छ । ठूलाबडाको आदर, सानुलाई कदर र शत्रुलाई माया गर्नुपर्छ । राज्य सञ्चालन शासन, प्रशासन र अनुशासन पक्रियामा सन्तुलन ल्याउन र मानवजीवनलाई महामानव धरातलमा रुपान्तरण गर्न आदिम अध्यात्म, साम्यवादविना सम्भव छैन, राज्य ब्रेडले नभई ब्रेनले र अन्ततोगत्वा ब्रह्माज्ञानले सञ्चालन गर्नुपर्दछ, यही तागेरा निङ्वाभूमाङको मूल सन्देश बताउनुहुने गुरुको सत्य, अहिंसा, दया र शान्ति नै हाम्रो अस्त्रशस्त्र र धर्म हो । धर्मलाई अध्यात्मसँग, अध्यात्मलाई विज्ञान एवं विश्व ब्रह्माण्डसँग जोडेर भौतिकीय मानव कसीमा अवतरण गर्नु योगीजन, धर्मगुरुहरू र राज्यधिकारहरूको साझा कर्तव्य भएकोले संसारमा देवविद्या र राजविद्या नै सर्वश्रेष्ठ सर्वशक्तिमान् तत्व हुन् । त्यो भन्दा अदृश्य शक्ति ईश्वरीय शक्ति अजेय हुन्छ भन्ने गुरुदेवको धारणा रहस्यमय छ ।

गुरुदेवको नेतृत्वमा सयौं मन्दिरहरू स्थापित भइसकेका छन् । इलाम बाँझो–९ माङ्सेबुङ केन्द्रीय धार्मिक स्थलमा आरोग्यशाला, योगशाला, ध्यानशाला, मुन्धुमशाला, ज्योतिषशाला, विज्ञानशाला, ज्ञानशाला, जपशाला, तपशाला, शिक्षाशाला, दीक्षाशाला आदि भव्य मन्दिर निर्माण गरी मुन्धुमहरू प्रतिपादन गर्ने पूर्वतयारीमा लागिपर्नुभएको छ । गुरुको ब्रह्मविद्या, ज्ञानशक्तिलाई राज्यशक्तिले सदुपयोगमा ल्याउन सके नेपाल, नेपाली जनता र विश्वमानव शौभाग्यशाली बनेर र अमनचयन कायम गरी सुःख–शान्तिले बाँच्न पाउनेथियो ।

उहाँको जन्मदिनसँगै अर्को महत्वपूर्ण चाड किरात पर्व उँधौली पूजा पनि पर्छ । किरात जनजातीय संस्कृतिक दुई महत्वपूर्ण उँधौली र उँभौली चाड प्रकृतिमय छन् । उँधौली पूजालाई मुवेक्वा चेःसोक सेवाको विशिष्ट स्थान छ । किसानवर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवी सृष्टिकर्ता तागेरा निङ्वाभूमाङलाई चढाउने प्रचलन नै कालान्तरमा उँधौली बन्न गएको ऐतिहासिक पर्वसँगै आत्मानन्द जन्मोत्सव एक सिक्काको दुई पाटा भई स्थापित भएर मनाउन लागिरहेका छन् ।

आज यही पुण्यतिथिमा आध्यात्मिक भविष्यदर्शी, महाज्ञानी, अलौकिक शक्तिका संवाहक किरात धर्मगुरु आत्मानन्द सेइङको ६३ औं जन्मोत्सव तथा उँधौली चाड २०७३ मङ्सिर १८ गतेका दिन किरात धर्मावलम्बीहरूको घर–आँगनमा कोसेढुंगा साबित गराउन मंगलमय शुभकामना सन्देश बोकेर भेला हुने वार्षिक परम्परा छ । साथै भक्तजनहरूको माझमा धर्मगुरुको नुमाङ्गेन्ना शुभ जन्मोत्सव एवं उँधौली चेःसोक सेवामा गरिमामय आवागमन हुने अवसरले लोकतान्त्रिक मुलुक वास्तविक समावेशी साबित भएको छ ।
(लेखिका आङदेम्बे विश्व किरात नारी संघकी अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्