माथिल्लो तामाकोशीले जगाएको आशा



बहुचर्चित ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अहिलेसम्म ८३ प्रतिशत सकिएको छ । पछिल्लो तालिकाअनुसार आयोजनाको काम आगामी २०७५ असारसम्म सक्ने लक्ष्य लिइएको थियो । यद्यपि भूकम्पबाट आयोजना प्रवेशमार्गमा पर्ने काब्रेभीर सडकखण्डमा क्षति पुगेकाले आयोजनास्थलसम्म पुग्ने सडक अवरुद्ध हुनपुगेको थियो । तर अहिले सो स्थानमा गत साउनमा निर्माण शुरु भएको ३ सय ३७ मिटर लामो रोड टनेलको ब्रेक थ्रु भएको समाचारले निर्धारित समयअगाडि नै सो जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने आशा जागेको छ ।

रोड टनेलको निर्माण कार्य शुरु भएको पाँच महिनामै ब्रेक थ्रु भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताउनुभएको छ । आयोजनाको बाँधस्थलसम्म पुग्ने सडक अवरुद्ध हुँदा कतिपय काम बन्द रहेकोमा अब आयोजना निर्माणका हेड बक्स, पावर लाइनलगायतका काम द्रुतत्तर गतिमा हुने जनाइएको छ ।

आयोजनाका प्रवक्ता डा. न्यौपानेका अनुसार आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले सुरुङको ब्रेक थु्र बुधबार गरे पनि सो टनेलबाट सार्वजनिक सवारीसाधनहरूको सञ्चालन भने केही दिनमा हुनेछ । यस कार्यका लागि ठेकेदार कम्पनीसहित संलग्न व्यक्तित्वहरूलाई धन्यवाद दिनै पर्छ ।

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको काम निर्धारित समयअघि नै सक्न निर्देशन दिनुभएको थियो । उहाँले काम चाँडो सम्पन्न गरे सहभागी कर्मचारीलाई पुरस्कार दिनेसमेत घोषणा गर्नुभएको थियो । सोही अनुरुप रोड टनेलको ब्रेक थ्रु भएपछि आयोजना निर्माणस्थलसम्म सवारीसाधन सञ्चालनमा सहजता हुने देखिन्छ । यता सडक सुचारु भएपछि आयोजनाको काम द्रुत गतिमा अगाडि बढ्नेछ भने उता रोड टनेलको ब्रेक थ्रु भएपछि आयोजनास्थल भन्दा केही टाढा पर्ने लप्चीवासीहरू आफ्नो गाउँसम्म सडक जोडिनेमा आशावादी बनेका छन् । उनीहरूले ड्यामसाइटबाट आफ्नो गाउँ लप्चीसम्म पुग्ने ९ सय मिटर रोड टनेल निर्माण गर्न पनि सिनो हाइड्रोलाई नै जिम्मा दिनुपर्ने बताउँदै आएका छन् । जे होस्, आयोजनास्थलसम्म सडक सुचारु भएपछि अब भने निर्धारित समयभन्दा अघि नै आयोजना सम्पन्न गर्न बाटो खुलेको छ । साथै ड्यामसाइटबाट लप्चीसम्मको सुरुङमार्गको निर्माणसमेत समयमै सम्पन्न गर्ने हो भने लामाबगर नाका सञ्चालनका लागि पनि सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्