नेपालभाषा संकिपा महोत्सवप्रति आकर्षण



(नरेन्द्रमान श्रेष्ठ) नेपालभाषा संकिपा समाजको आयोजनामा बागबजारस्थित सिनेमा हल सिटी म्याक्समा नेपालभाषा संकिपा महोत्सव २०१६ चलिरहेको छ । नेपालभाषा महोत्सवको रुपमा सिनेमा हलमा सञ्चालन भइरहेको महोत्सवप्रति दर्शकको आकर्षण बढिरहेको छ । नेपालभाषाको विभिन्न सिनेमाहरू १ वर्षसम्म महिनाको एउटा नेपालभाषाको चलचित्रहरू प्रदर्शन गर्ने गरी भइरहेको महोत्सवमा दर्शकहरूको चहलपहल र आकर्षण बढिरहेको आयोजकहरू बताउँछन् । नेपालभाषाका चलचित्रहरू मु मदुगु जिन्दगी, अंश, तापलय्, वः मिसा, तानाज्य, तुयुमति, थःम्ह म्हयाग गा आदि गरी १२ वटा नेपालभाषाका चलचित्रहरू प्रदर्शनमा देखाइनेछ । विगतमा नेपालभाषाका चलचित्रहरू कहिले टेलिभिजनमा, कहिले सडक महोत्सवमा त कहिले च्यारिटी शोमा मात्र प्रदर्शन हुने गरेकोमा यसपालि महोत्सवको रुपमा भए पनि सिनेमा हलमा प्रदर्शन भएको छ । त्यसो त नेपालभाषाका चलचित्रहरू डीभीडीमार्फत दर्शकहरूमा पुर्याउनुपर्ने बाध्यता थियो । अहिले सीमित मात्र भए पनि नेपालभाषाका चलचित्रहरूलाई सिनेमा हलमा प्रदर्शन गर्ने प्रयास नेपालभाषा संकिपा समाजले गरेको छ । अबका दिनमा नेपालभाषाका चलचित्रहरू पनि नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गर्ने सहज वातावरण बनाउनुपरेको छ ।

विगतमा उत्सव, महोत्सव, च्यारिटी शो र डीभीडीमा मात्र धरैजसो सीमित भइरहेको नेपालभाषाका चलचित्रहरूलाई अरु नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरूजस्तै सिनेमा हलहरूमा प्रदर्शन गर्ने गरेको प्रयासलाई नेपालभाषा संकिपा समाजको प्रशंसा गर्नुपर्ने हुन्छ । यसबाट भविष्यमा नेपालभाषाका चलचित्रहरू पनि सिनेमा हलमा प्रदर्शन हुनेछन् भन्ने आशा पलाएको छ । नेपालभाषाका चलचित्रहरू पनि अरु चलचित्रहरूजस्तै उपयुक्त समयमा सिनेमा हलमा हेर्न सक्ने भए नेपालभाषाको चलचित्र क्षेत्रको विकास विस्तार हुनेमा दई मत नहोला । यसका लागि सम्बन्धित सरोकारवालाहरूको प्रयास भने हुनुपर्दछ । त्यसो त नेपालभाषाका चलचित्रहरूको विकास, विस्तार र चलचित्रकर्मीहरूको हकहित अनि अधिकारको लागि भनी विभिन्न संघसंस्थाहरू स्थापना भएका छन् । तर यस्ता संघसंस्थाले चलचित्र निर्माता र हलवालाहरूको बीचमा पुलको काम भने गर्न सकिरहेका छैनन् । नेपालभाषा संकिपा समाजजस्तो संस्थाले पनि यसमा कार्यहरू गर्नुपर्ने देखिन्छ । त्यसो त नेपालभाषा संकिपा समाज पनि आफ्नो स्थापनाको चार वर्षसम्म प्रायः निष्कृय नै बसेको थियो ।

नेपालभाषाको चलचित्रको लगभग तीन दशकको इतिहासलाई हेर्ने हो भने, विगतमा दुई वटा मात्र नेपालभाषाको सेल्युलाइड चलचित्र निर्माण र प्रदर्शन भएका छन । नेपालभाषाको पहिला चलचित्र सिलु र दोस्रो चलचित्र राजमति । पछिल्लो समयमा भने तीन वटा नेपालभाषाका चलचित्रहरू सिनेमा हलमा प्रदर्शन भएका छन् । पटाचारा, बांला मय्ज र कृषा गौतमी सिनेमा हलमा प्रदर्शन भएका थिए । अहिले महोत्सवको रुपमा भए पनि १२ वटा नेपालभाषाका चलचित्रहरू सिनेमा हलमा प्रदर्शन हनेछन् । त्यसो त भन्नुपर्दा अहिले नेपालभाषाका चलचित्रहरू त्यति निर्माण भइरहेका छैनन् । हुन नेपाली खस भाषाका चलचित्रहरूले नै व्यापारको हिसाबले राम्रो व्यापार गर्न नसकिरहेको अवस्था छ भने सीमित मात्र दर्शकहरू भएका र नियमितरुपमा हलमा प्रदर्शन हन नसकिरहेका नेपालभाषाका चलचित्रहरूले निर्माणको गति लिन नसकिरहेको हो भन्दा पनि हन्छ । कतिपय नेपालभाषाका चलचित्रका निर्माताहरू नेपालभाषाका चलचित्रहरूले त्यति प्रतिफल लिन सक्ने अवस्था नरहेको पनि बताउँछन । नेपालभाषाका चलचित्रहरू व्यावसायिक प्रतिस्पर्धामा भन्दा पनि नेपालभाषाको चलचित्र क्षेत्रलाई बाचाइराख्न र नेपालभाषाका चलचित्र निर्माणको गतिलाई अगाडि बढाउनको लागि यो भाषाका चलचित्रहरू बनाउन परिरहेको चलचित्र वल वल फसिक्वाका निर्माता तथा नृत्यनिर्देशक जितेन्द्र श्रेष्ठको भनाइ छ ।

चलचित्रसम्बन्धी नीति नियम तर्जुमा गर्ने र चलचित्र क्षेत्रको विकास विस्तारको लागि भनी सरकारी स्वामित्वको नेपाल चलचित्र विकास बोर्ड छ । नेपाल चलचित्र विकास बोर्डले नेपाली चलचित्रको साथसाथै देशका आदिवासी जनजातिका चलचित्रहरूको विकास, विस्तार, संरक्षण, प्रवद्र्धन गर्न ठोस नीति बनाउनुपर्ने देखिन्छ । ढिलै भए पनि देशका आदिवासी जनजातिका चलचित्रहरूको पनि नेपाल चलचित्र बोर्डमा दर्ता हुने भएको छ । यसलाई नेपालभाषा संकिपा महोत्सव २०१६ को उपलब्धिको रुपमा लिनुपर्दछ । यसका लागि नेपालभाषा संकिपा समाजलाई धन्यवाद दिनै पर्ने हुन्छ । आदिवासी जनजातिका चलचित्रहरू निर्माण मात्र गरेर पनि भएन, यसको प्रदर्शनका लागि हल पाउन कठिन भएको निर्माताहरू बताउँछन् । अब नेपाल चलचित्र विकास बोर्डले आदिवासी जनजातिका मातृभाषाका चलचित्रहरूका लागि पनि सहजरुपमा हल उपलब्ध हुने वातावरण बनाइदिनुपर्ने देखिन्छ । साथै आदिवासी जनजातिका चलचित्रहरू पनि व्यावसायिक प्रतिस्पर्धाको रुपमा अघि बढ्न सक्ने वातावरण बनाउनुपर्ने देखिन्छ । यसका लागि सम्बन्धित सरोकारवालाहरूले ध्यान पुर्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्