१ लाख अन्डा खाइसकिन् विश्वकै वृद्ध महिलाले



न्युयोर्क, (एजेन्सी)

एमा मोरानोले विगत ९० वर्षदेखि दिनको ३ वटा अन्डा खाँदै आइरहेकी छिन्। यो हिसाबले उनले अहिलेसम्म १ लाख अन्डा खाइसकेकी छिन्। गत मंगलबार यी विनम्र महिला मोरानोले ११७औं जन्मदिन मनाएकी थिइन्।

आफ्नो जीवनमा एमाले तीनवटा शताब्दी देखिसकेकी छिन्। यो कालखण्डमा अपमानजनक विवाहबाट मुक्त भएको घटना पनि पर्छ जुन एउटा ब्ल्याकमेलबाट शुरु भएको थियो।उनको जिन्दगीमा एक्लो छोराको मृत्यु शोक परेको थियो। यद्यपि एक किसिमले सन्तुलित आहार नै उनको दीर्घायुको प्रमुख कारक मानिएको छ।

एमा मोरानो आफ्ना ८ दाजुभाइ तथा दिदीबहिनीमा सबैभन्दा जेठी हुन्। अहिले उनीमात्रै जीवित छन्। उनको जन्म सन् १८९९ नोभेम्बर २९ मा इटालीको पिडमौन्टमा भएको थियो।

अमेरिकाकी सुसन्ना मुसत जोन्सको गत मेमा मृत्यु भएपछि एमा यो वर्ष आधिकारिक रूपमा सबैभन्दा बृद्ध जीवित महिला बनेकी छिन्। १९औं शताब्दीमा जन्मेर २१ शताब्दीसम्म जीवित रहने उनी अन्तिम महिला पनि हुन्।
आफ्नो लामो आयुको कारण केही हदसम्म आणुबंशिक पनि भएको एमाको धारणा रहेको छ। उनकी आमा पनि ९१ वर्षसम्म जीवित रहेकी थिइन्। उनका केही बहिनीहरु पनि आफ्नो जीवनमा सय वर्ष पूरा गरेका थिए।

उनले करिब ९० वर्षदेखि प्रत्येक दिन तीनवटा अन्डा, जसमा दुईवटा काँचो खाने गरेको दाबी गरेकी छिन्। यो नियम उनले प्रथम विश्व युद्धको केही दिनपछि उनी जवान छँदै गरेकी थिइन्। उनलाई डाक्टरले रक्तअल्पता अर्थात एनिमिया भएको बताएका थिए।अहिले पनि उनी दुई अन्डा र केही विस्कुट खाने गर्छिन्।

विगत २७ वर्षदेखि उनका निजी डाक्टर रहेका कार्लो बावाले समाचार एजेन्सी एएफपीलाई उनको खाना कुनै पनि हिसाबले स्वस्थ जीवनका लागि सही ठहर्याउन नसक्ने बताए। उनले भने– एमा सँधै अत्यन्त थोरै सागसब्जी खान्छिन्, अत्यन्त कम फलफूल खान्छिन्। जब मैले उनलाई भेटेको थिएँ , उनी प्रत्येक दिन ३ वटा अन्डा खान्थिन्। बिहान दुईवटा काँचो र अपरान्हतिर एउटा अम्लेट र राति केही कुखुराको मासु खान्थिन्। त्यसको बाबजुद पनि उनी लामो समय स्वस्थ रहेको उनले देखे।

आफ्नो लामो आयुको विषयमा मारानो एउटा घटनालाई पनि श्रय दिन चाहन्छिन्। सन् १९३८ मा आफ्नो ६ महिने छोराको मृत्यु भएको एक वर्षपछि पतिलाई छोडेकी थिइन्।

एमाका अनुसार उनको दाम्पत्य जीवन कहिले पनि राम्रो भएन। उनको एकजना केटासँग प्रेम थियो तर उनी प्रथम विश्व युद्धमा मारिए। त्यसपछि उनी अरु कसैसँग विवाह गर्न इच्छुक नै थिइनन््। ११२ वर्षको उमेरमा लास्टेम्पालाई दिएको एक अन्तरवार्तामा उनले आफूसँग अत्यन्तै कम विकल्प भएको बताएकी थिइन्। उनले आफ्नो पतिको बारेमा भनिन्– ‘उनले मलाई भने, तिमी भाग्यमानी हो भने तिमीले मसँग विवाह गर्नुपर्नेछ , होइन भने म तिमीलाई मार्नेछु। त्यो बेलामा २६ वर्षकी थिएँ। मैले विवाह गरेँ।

उनको खराब व्यवहार अत्यन्त बढेपछि एमाले आफ्नो पतिलाई छोडिन्। यद्यपि सन् १९७८ मा पतिको मृत्युसम्म कानुनी रूपमा उनको विवाह कायम थियो। त्यतिबेला एमा ७५ वर्षकी थिइन्। उनले दोस्रो विवाह नगर्ने निर्णय गरेकी थिइन्।
न्युयोर्क टाइम्सलाई उनले भनिन्– ‘म कसैसँग दबेर बस्न चाहन्न थिएँ।’
एमाको यो दृढताले भरेको कथालाई संगीतको माध्यमबाट प्रस्तुत गरिएको थियो। यो सांकेतिक नृत्य कार्यक्रम उत्तरी इटलीको शहर वरेबेनियामा प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा लेखकले भने– ‘यसले घरेलु हिंसा विरुद्ध उनको विद्रोह र महिला साहसलाई देखाएको छ।

प्रतिक्रिया दिनुहोस्