बच्ला त हुलाक ?



सुरेश तामाङ, काठमाडौं

सूचना प्रविधिका अत्याधुनिक सामाग्रीको विकासले गर्दा हुलाकको परम्परागत कामलाई अप्ठेरो पारेको छ । त्यहाँ कार्यरत १० हजार ८ सय ५८ जना कर्मचारीको काममाथि नै प्रश्न उब्जिन पुगेको छ ।

केही वर्षयता त्यति धेरै काम नभए पनि कर्मचारी धेरै थुप्रिएको भन्दै हुलाकलाई गाली गर्नेको अहिले लर्काे नै लागिरहेको छ। पछिल्लोपटक त कर्मचारी धेरै भएको निकाय र कर्मचारी सधैं घाम तापेर बस्छन् भन्ने आरोप पनि सो कार्यालयका कर्मचारीले खेप्दै आइरहेका छन्।

पछिल्लो समय सूचना प्रविधिमा सर्वसाधारणको पहुँच ह्वात्तै बढेपछि एक–आपसमा सन्देशको आदान–प्रदान पनि प्रविधिबाटै सहजरूपमा हुन थालेपछि हुलाक कार्यालय छायाँमा परेको छ। यो प्रविधिले गर्दा चिठ्ठी–पत्रद्वारा गरिने सन्देश आदान–प्रदानलाई पूर्णरूपमा विस्थापित नै गरेको छ।

सूचना प्रविधिमा भएको विकासले गर्दा हुलाकलाई सर्वसाधारणले प्रश्न गर्न थालेको भन्दै हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले बताउनुभयो– ‘प्रविधिमा विकास भएपछि हुलाकको कामै छैन भन्ने पनि एकथरीको बुझाइ छ ।’
व्यक्तिगत चिठ्ठी–पत्रको काम नगरेको भन्दैमा हुलाकको काम छैन भनेर बुझ्नु त्यति राम्रो नहुने हुलाकका कर्मचारीहरूको कथन रहेको छ। पछिल्लो समय हुलाकमा व्यक्तिगत चिठ्ठी–पत्र आदान–प्रदान गर्ने चलन घटेको हो, अधिकारीले भन्नुभयो– ‘हुलाकको व्यक्तिगत चिठ्ठी–पत्रको काम मात्रै नभएर सरसामान, संस्थागत चिठ्ठी–पत्र, बुक पोस्ट, प्याकेट दर्ता गर्नेलगायतका धेरै काम हुन्छन्। कर्मचारी पनि त्यतिकै व्यस्त हुन्छन्।’

अमेरिका, जर्मनी, सिंगापुर जस्ता विकसित मुलुकहरूमा पनि हुलाक अझै पनि जिउँदै रहेको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘विकसित मुलुकमा त अझैसम्म छ भने हाम्रोमा त अझै धेरै वर्षसम्म यो हुलाक बाँचिरहन्छ।’ त्यस्तै, गोश्वारा हुलाक कार्यालयका प्रमुख हरिप्रसाद ज्ञवालीले हुलाकमा कर्मचारी धेरै थुप्रिएको र घाम ताप्दै बस्ने गरेको भन्ने गुनासो सत्य नरहेको बताउनुभयो। जिल्लाको हकमा पछिल्लोपटक व्यक्तिगत चिठ्ठी–पत्र लेख्ने काम हुन छोडेपछि कर्मचारी थुप्रिएको जस्तो देखिएको होला। तर, अझै पनि हुलाकमा काम धेरै छन्।

हुलाकको देशभर झन्डै ४ हजार कार्यालय सञ्जाल छन् भने सुगमदेखि विकट स्थानसम्म छन्। हुलाकको ५ वटा क्षेत्रीय हुलाक निर्देशनालय छन्। यीमध्ये मध्यमाञ्चलबाहेकका ४ वटाले जिल्ला हुलाकको समेत काम गर्छन्। गोश्वारा हुलाक कार्यालय काठमाडौंमा मात्र छ। ७० जिल्लामा जिल्ला हुलाक कार्यालय छन्। इलाका हुलाक कार्यालयको संख्या ८ सय ४२ छ। यीमध्ये १ सय ७० वटा हिमाली क्षेत्रमा छन्, ३ सय ७२ पहाडी क्षेत्रमा र ३ सय तराई क्षेत्रमा छन्।

देशभर ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालय छन्। ४ सय ९२ हिमाली क्षेत्रमा, १ हजार ५ सय ४१ पहाडी क्षेत्रमा र १ हजार ४१ अतिरिक्त हुलाक कार्यालय तराई क्षेत्रमा छन्।९ हजार ५१ जना विभिन्न तहका र अतिरिक्ततर्फ १० हजार ८ सय ५८ जना कर्मचारी हुलाकसँग छन्। जसमा हुलाक प्रतिनिधिले कार्यालयमा बसेर काम गरिरहेका हुन्छन्। डाक वितरकले चिठ्ठी–ºपत्र बाँड्ने काम गर्दछन् भने डाकबाहकले एउटा हुलाकबाट अर्काे हुलाकसम्म चिठ्ठी ल्याउने र पुर्याउने काम गर्दछन्।

हुलाकले मात्रै वार्षिक २२ करोडको हाराहारीमा राजस्व संकलनसमेत गर्दछ। जिल्लाका कार्यालयतिर भने कर्मचारीलाई काम गर्न हल्का भएका कारण पनि कर्मचारी फुर्सदमै देखिने सम्बद्ध अधिकारीहरूको बुझाइ छ।

हुलाकको सञ्जाल गाउँ–गाउँ पुगेका कारण हुलाकले आफूलाई अत्याधुनिक बनाउने अधिकारीहरूको सुझाव छ। नयाँ काम थाल्दा सफल हुने सम्भावना पनि हुलाकको बढी छ। किनकि निजी क्षेत्रले ग्रामीण र दूरदराजका स्थानमा अझै पनि सेवा विस्तार गर्न सकेका छैनन्।

हुलाकलाई सरकारले त्यति प्राथमिकतामा नराखेको हुलाककै उच्च अधिकारीहरूको भनाइ छ। ‘सरकारले नयाँ–नयाँ प्याकेज दिन सकेको छैन’, हुलाकका एक उच्च अधिकारीले भने– ‘सरकारले कसरी हेरिरहेको छ। सेवाग्राही र कर्मचारीले कसरी हेर्ने ? भन्ने कुरामा भर पर्दछ। त्यस कारण सबैलाई हुलाकमा कामै छैन भन्ने लागेको हुन सक्छ।’

हुलाकले चिठ्ठी–पत्र आदान–प्रदानसँगै हुलाक वचत बैंक, कुरियर, ईएमएस, पार्सल, पोस्टकार्ड, पत्रपत्रिका वितरणलगायत काम गर्दै आएको छ। हुलाकले आफूलाई समयक्रमसँगै अधुनिकीकरण गर्दै लगेको पनि छ।

हुलाकले सेवाग्राहीलाई सेवा पुर्याउन घुम्ती सेवा पनि गरिने भएको छ। यस सेवाका लागि नयाँ भ्यान थपेर सरसामान होम डेलिभरी गर्ने पनि छ। यो प्रस्तावको रूपमा मन्त्रालयमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्