विमान दुर्घटनामा खेलाडी बाँचे



लन्डन, (एजेन्सी)

शीर्ष श्रेणीको ब्राजिलियन फुटबल टिमसहित ८१ जना यात्रु बोकेको विमान कोलम्बियास्थित मेडेलिनमा दुर्घटनाग्रस्त भएको छ। सोमबार राति भएको घटनाबाट सात जना यात्रु बाँचे पनि पछि टिमको गोलकिपरसहित दुई जनाको मृत्यु भएको रिपोर्टमा जनाइएको छ। ब्राजिलको टिम चापेकोन्सेका खेलाडी र स्टाफ बोकेको चार्टड विमान ब्राजिलबाट बोलिभिया हुँदै कोलम्बिया उडान भएको थियो। २० दिनअगाडि मात्रै विश्वकप छनोट खेल खेल्न ब्राजिल आउँदा अर्जेन्टिना टिमले सोही विमानबाट यात्रा गरेको थियो। जसमा मेगास्टार लियोनल मेसी र एन्जेल डि मारियासमेत अर्जेन्टिनी टिममा रहेका थिए।

बाँचेका पाँच जनामध्ये दुई जना फुटबलर रहेका छन्। डिफेन्डर एलान रसेल र वैकल्पिक गोलकिपर ज्याक्सन फोलम्यान बाँचेको पुष्टि गरिएको छ। केही रिपोर्टले जनाएअनुसार डिफेन्डर हेलियो नेटोलाई बचाएको थियो। क्लबका मुख्य गोलकिपर मार्कोस पाडिहा अका डेनिलो दुर्घटनामा परे पनि बाँचेका तर पछि अस्पतालमा उनको निधन भएको जनाइएको थियो। रसेल र डानिलोले हामी कोलम्बिया आउँदै छौं भनेर सेल्फी खिचेको तस्वीर पोस्ट गरेका थिए।

त्यस्तै स्पोर्टस् नेटवर्क टेलीमुन्डो डिपोर्टेसले स्पेनी भाषामा ट्वीट गरेको थियो कि रसेल बेहोसमा थिए तर अहिले बोलिरहेका छन्।उनकी श्रीमती ग्लोबोले टिभीमा बताइन्– ‘धन्य भगवान्, एलान अस्पतालमा छन्। उनी स्थिर अवस्थामा छन्।’

सो टिमले कोलम्बियामा कोपा सुडामेरिकानाअन्तर्गत फाइनल खेलको पहिलो लेगमा मेडेलिन टिम एटलेटिको नेसन लसँग खेल्ने कार्यक्रम रहेको थियो। यो दक्षिण अमेरिकाको दोस्रो क्लबस्तरीय महत्त्वपूर्ण प्रतियोगिता हो। बुधबार हुने भनिएको खेल घटनापछि स्थगित गरिएको छ। चापेकोन्से टिम सानो क्लब रहेको र सन् २०१४ मा पहिलो पटक ब्राजिलको शीर्ष डिभिजनमा प्रवेश भएको टिम थियो।

सो घटनापछि ब्राजिलका राष्ट्रपति मिचेल टेमेरले तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन्। त्यस्तै ठूला क्लब रियल मेड्रिड र बार्सिलोनाका पुरै टिमले अभ्यास सेसनको शुरुमा एक मिनेट मौनधारण गरेर दुर्घटनामा निधन भएका खेलाडीप्रति श्रद्धाञ्जलि दिएका थिए।

ब्राजिलको सानो शहर सान्टा काटारिनाको टिम चापेकोन्सेले कोपा सुडामेरिकानाको फाइनलमा पुगेर इतिहास बनाएको थियो। १९७४ मा स्थापना भएको सो क्लबले ब्राजिलको सिरी ए मा एकपटक मात्रै खेलेको थियो। तर हालै मात्र स्थापित क्लब साओ पाउलो, फ्लुमिनेन्स र क्रुजेइरोभन्दा माथि रहेर धेरै लोकप्रिय बनेको टिम थियो।

प्रतिक्रिया दिनुहोस्