नेपाल फेरि पराजित



ब्याटिङको दुदर्शा जारी रहेपछि नेपाली महिला क्रिकेट टोलीले एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा हारको ह्याट्रिक पूरा गरेको छ।

थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले हारेको हो। यो नेपालको प्रतियोगितामा तेस्रो हार थियो। यसअघि नेपालले कमजोर ब्याटिङकै कारण पाकिस्तान र श्रीलंकालाई नतिजा सुम्पिसक्यो। यो हारसँगै नेपाल ६ टोली सम्मिलित प्रतियोगितामा पुछारमै कायम रहेको छ। मंगलबार नै भएको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराएपछि भारत शीर्ष स्थानमा अडिग छ।

टस जितेर बंगलादेशले नेपाललाई फिल्डिङको जिम्मा दिएको थियो। नेपाली बलिङ पनि जम्न सकेन। बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो। पहिलो विकेटका लागि नै बंगाली ओपनरले ११.३ ओभरमा ७१ रन जोडेका थिए। नेपाली बलरमा संगीता राई दुई विकेट लिइन् भने कप्तान रुबीना क्षेत्री बेलबासी र सीता रानामगरले एक–एक विकेट हात पारे।

ब्याटिङको पालो आउँदा नेपाली टोलीले अघिल्ला खेलमा झैं लगातार विकेट पतन झेल्नुपरेको थियो। नेपाल १७.३ ओभरमा सबै विकेट गुमाएर ४१ रनमा रोकिएको थियो। नेपाली टोलीमा फेरि एक पटक एक जना खेलाडीले मात्रै दोहोरो अंक जोडिन्। यसपटक ओपनरमा आएकी सीता रानामगरले १४ बलमा तीन चौका लगाएर १५ रन बनाइन्। बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्