नवीकरणबिना क्रसर उद्योग सञ्चालनमा



नेपाल समाचारपत्र
हेटौंडा

चालु आर्थिक वर्षमा सरकारले देशभर क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको छैन। गत आर्थिक वर्ष असार मसान्तबाट क्रसर उद्योग सञ्चालनको म्याद सकिएको हो। यद्यपी, मकवानपुरका करिब एक दर्जन उद्योग भने सञ्चालनमा छन्।

मकवानपुरका ४८ क्रसर उद्योगमध्ये करिब एक दर्जन उद्योग चार महिनादेखि नवीकरण बिना नै सञ्चालन हुँदै आएका छन्। चालु आर्थिक वर्षको साउनदेखि मापदण्डविपरीतका क्रसर सञ्चालन गर्न सरकारले अनुमति दिएको छैन।

सरकारले बनाएको मापदण्डको पीडामा आफूहरु रहेको उद्योगीहरुको गुनासो छ। निर्णय पुनर्विचार गर्न सरकारको ध्यानाकषर्ण गराइएको भएपनि कार्यान्वयन नभएको व्यवसायी बताउँछन्।

मापदण्ड अनुसार सञ्चालन गर्न २०७१ भदौ १६ र माघ २ गतेको निर्णय अनुसार राजमार्गबाट कम्तिमा ५ सय मिटर, नदीखोलाबाट कम्तिमा ५ सय मिटर, विद्युत् हाइटेन्सन लाइनबाट एक सय मिटर, वन, धार्मिक क्षेत्र, सुरक्षा निकाय, शिक्षण संघ–संस्था, मानव बस्ती, स्वास्थ्य संस्थाबाट दुई किलोमिटर टाढा क्रसर उद्योग रहनुपर्ने मापदण्ड बनाएको छ। उक्त कडा मापदण्डभित्र मकवानपुरका सबै ४८ वटै क्रसर उद्योग पर्दैनन्।

सबै क्रसर मापदण्ड बिपरीत रहेकाले सरकारले नवीकरण गर्न नगरेको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख घरेलु उद्योग अधिकृत पुष्कर भट्टराई बताउनु हुन्छ। मापदण्ड लागु भएपछि मकवानपुरमा नयाँ क्रसर सञ्चालनका लागि दर्ता भएका केही उद्योग स्थापना भएनन्। ३० वटा उद्योग त्यत्ति बेलादेखि सञ्चालन हुनै सकेनन्।

भूकम्पपछि सरकारले बजेट भाषण मार्फत् एक वर्षका लागि २०७३ असार मसान्तसम्म मापदण्ड बिपरीत भए पनि उद्योग नवीकरण गर्न निर्देशन दिएपछि सञ्चालनमा आएका थिए। तर, चालु आर्थिक वर्षमा नवीकरण गर्न सरकारले निर्देशन नदिएको उद्योग अधिकृत भट्टराई बताउनुभयो।
हेटौंडा उप–महानगरपालिकाको बसामाडीमा पूर्वपश्चिम राजमार्गसँग रहेको शुभ क्रसर उद्योग चार महिनादेखि नवीकरण नगरी सञ्चालनमा छ। सरकारी मापदण्ड नपुगेको भन्दै उद्योग नवीकरण गरिएको छैन। मनहरी–४ मा रहेको चतुर्मुखी क्रसर तथा बालुवा प्रशोधन उद्योग पनि बिनानवीकरण निरन्तर चलिरहेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म नवीकरण गरेर सञ्चालन गर्न सरकारले म्याद दिए पनि उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन भइरहका छन्। उद्योगहरुले क्षमता थपको स्वीकृति नलिइ दोब्बर क्षमतामा क्रस गिट्टी र बालुवा उत्पादन गरिरहेका छन्। उद्योगका मजुदरलाई भ्याइ–नभ्याइ छ।

हेटौडामा रहेको कामना क्रसर रोडा तथा बालुवा उद्योग पनि उही गतिमा सञ्चालन भइरहेको छ। मनहरीकै ज्यामिरेमा रहेको स्वस्तिक क्रसर उद्योग नवीकरणको पर्वाह नगरी सञ्चालन भइरहको छ। उद्योग सञ्चालक सरोज कुँवर मकवानपुर सहित अन्यत्रका उद्योग नविकरणबिना सञ्चालन भएकाले आफूले पनि चलाएको बताउनुहुन्छ। बसामाडी सान्नानीटारमा रहेको दीपज्योति क्रसर उद्योगले पनि हालसम्म उद्योग चलाइरहेको छ। सरकारले ‘मापदण्ड बिपरीत’ भनेपनि उचित स्थानमा नसारेकाले आफूहरुले बाध्य भएर नवीकरण विना उद्योग सञ्चालन गरेको बताउँदै उद्योग सञ्चालक सुनिल कुशवाह भन्नुहुन्छ–‘करोडौं लगानी भएका उद्योग नवीकरण नगरिए पछि के गर्नु त, चलाउनै पर्यो।’

प्रतिक्रिया दिनुहोस्