म्यानचेस्टर युनाइटेड विजयी



 
लन्डन, (एजेन्सी)

युरोपको दोस्रो शीर्ष क्लब प्रतियोगिता युरोपा लिग फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडले नेदरल्यान्ड्सको फेयनुर्डलाई ४–० ले पराजित गरेको हो। म्यानचेस्टर युनाइटेडको फराकिलो गोलअन्तरको जितमा हुँवा माटा, वायने रुनी र जेस्सी लिंगार्डले एक–एक गोलको योगदान गरे। त्यस्तै फेयनुर्डका गोलरक्षक जोन्सले एक आत्मघाती गोलको उपहार दिएका थिए।

खेलको ३५औं मिनेटमा युनाइटेडले कप्तान वायने रुनीको गोलमार्फत शुरुआती अग्रता लिएको थियो। यो गोलले रुनीलाई युरोपीय प्रतियोगितामा सर्वाधिक गोल गर्ने क्लबका शीर्ष गोलकर्ता बनायो। उनले क्लबका लागि ३८ गोल गरेका भान निस्टलरुएलाई शीर्ष गोलकर्ताबाट दोस्रो स्थानमा धकेलेका हुन्।

पहिलो हाफसम्म १–० ले अघि रहेको युनाइटेडका तर्फबाट खेलको ६९औं मिनेटमा माटाले दोस्रो गोल गरे। यसैगरी खेलको ७५औं मिनेटमा युनाइटेडले आत्मघाती गोल उपहार पाए। विपक्षी गोलरक्षक जोन्सले जाल्टन इब्राहिमोभिचले प्रहार गरेको बललाई रोक्ने क्रममा आत्मघाती गोल ब्यहोरे। यस्तै खेलमा थपिएको इन्जुरी समयको दोस्रो मिनेट नबित्दै लिंगार्डले गोल गरेपछि युनाइटेडको ४–० को जित सम्भव भयो।

यो जित जोसे माउरिन्होले युनाइटेडको प्रशिक्षक पद सम्हाले यताकै फराकिलो अन्तरको जितसमेत हो। यो नतिजापछि म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अर्को चरण नजिक समेत पुगेको छ। जितपछि पाँच खेलबाट ९ अंक जोडेको युनाइटेड समूह ए को दोस्रो स्थानमा छ। यसै समूहको शीर्ष टोली टर्कीको फेनेरबाचेले पनि जोर्या लुहान्स्कलाई २–० ले पराजित गर्यो। जितसँगै १० अंक जोडेको फेनरवाचे समूहको शीर्ष स्थानमा अडिग रहेको छ।

प्रतियोगिताअन्तर्गत समूह के को खेलमा इङ्लिस क्लब साउथह्याम्प्टनले भने अर्को चरणमा पुग्ने अवसरलाई सदुपयोग गर्न सकेनन्। चेक गणतन्त्रको स्पार्टा प्रागसँग १–० ले पराजित भएपछि साउथह्याम्पटनले उक्त अवसरलाई चुकाएको हो। स्पार्टा प्रागको जितमा खेलको ११औं मिनेटमा नामिनेसुले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो। जितसँगै स्पार्टा प्राग ५ खेलबाट १२ अंक जोड्दै समूहको शीर्षस्थानमा पुगेको छ। यस्तै दोस्रो स्थानमा रहेको साउथ्ह्याम्प्टनको समान खेलबाट ७ अंक रहेको छ।

युरोपा लिगअन्तर्गत बिहीबार राति नै भएका अन्य खेलमा इजरायलको हपोइल बिर शेभाले इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदा बेल्जियमको एन्डरलेच्ट, नेदरल्यान्ड्सको एजेड अल्कमार, रुसको जेनिथ र रोमानियाका स्टावा बुखारेस्टले पनि जित आत्मसात गरे।

 

प्रतिक्रिया दिनुहोस्