मुरे विश्व नम्बर एक



लन्डन, (एजेन्सी) ब्रिटेनका एन्डी मुरेले पाँच पटकको च्याम्पियन नोभाक जोकोभिचलाई हराएर एटीपी वल्र्ड टुर फाइनल्स टेनिसको उपाधि पहिलोपटक जितेका छन्।

विश्व नम्बर एक हुने तय भएको उपाधि भिडन्त जितेपछि मुरेले विश्व नम्बर एक टेनिस खेलाडीको रूपमा वर्ष २०१६ को अन्त्य पनि गरे। मुरेले लन्डनको ओटु एरेनामा भएको फाइनल खेलमा सर्बियाका जोकोभिचलाई ६–३, ६–४ ले हराएका हुन्। करिब १७ हजार दर्शकले मुरेको जित र विश्व नम्बर एक बनेकोमा तालीले सम्मान गरेका थिए। यो ३५ भेटमा जोकोभिचविरुद्ध मुरेको ११औं जित पनि थियो।

जितपछि स्कट खेलाडीले बताए– ‘जित्दा ज्यादै खुसी छु। विश्व नम्बर एक बन्नु ज्यादै विशेष रह्यो। साथै २९ वर्षीय मुरेले लगातार जितको संख्या २४ अंकमा पुर्याएका छन्। यो उनको करिअरको उत्कृष्ट जितको क्षण पनि हो। त्यस्तै जितले जोकोभिचको प्रतियोगिताअन्तर्गत लगातार ४ वर्ष जितेको क्रमलाई पनि विश्राम दिइएको छ। जोकोभिचले सन् २०१२ देखि २०१५ सम्म पुरुष टेनिसको वर्षमा हुने यो अन्तिम प्रतियोगितामा उपाधि जितेका थिए। यस प्रतियोगितामा सर्वाधिक उपाधि स्विजरल्यान्डका रोजर फेडेररले ६ पटक जितेका थिए।

जोकोभिचले मुरे विश्व नम्बर एक हुनेमा हकदार रहेको बताए। उनले भने– ‘मुरे निश्चय नै विश्वका नम्बर एक हुन्। उनी जितका हकदार थिए।

त्यस्तै मुरेका लागि यो वर्षमा अर्को एउटा खुसीको क्षण बनेको छ। यस वर्ष सिंगल्समा मुरे विश्व नम्बर एक खेलाडी भएसँगैं उनका भाइ जेमी मुरे डबल्समा विश्व नम्बर एक बनेका छन्। जेमीको जोडी ब्रुनो सोअरेस हुन्।

प्रतिक्रिया दिनुहोस्