नवयुगको गोलमा नेपाल विजयी



नेपाल समाचारपत्र
काठमाडौं
भूकम्पपीडितका लागि रकम संकलन गर्ने हेतु तथा नेपाल र जापानको दौत्य सम्बन्ध ६० वर्ष पुगेको अवसरमा आयोजित च्यारिटी मैत्री खेल नेपालले जितेको छ। एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको मैत्री खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले पाहुना टोली फ्रेन्डस अफ जापानलाई १–० ले हरायो। नेपालको जित आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले पक्का गरे। उनले ५७औं मिनेटमा जापानी गोलकिपरको गल्तीको फाइदा उठाएर गोल गरेका थिए। सो गोल निर्णायक बनेपछि नेपालले जित्न सफल भयो।

जापानी टोली तीनवटा गोल गर्ने मौका गुमाएको थियो। तीन प्रहार पोलमा ठोक्किएको थियो। खेलपछि नेपाली प्रशिक्षक ग्योटोकु कोजीले ज्यादै राम्रो अनुभव बटुलेको बताए। उनले खेलपछि बताए—प्रतिद्वन्द्वीले दुई दिन मात्रै अभ्यास गर्न पाएको थियो। तापनि खेल राम्रो भएको छ। यो खेलले नेपाली टोलीको प्रदर्शनमा प्रगति गर्न सहयोग मिल्नेछ।

जापानी प्रशिक्षक टोडा काजुयुकीले नतिजा उनीहरुको पक्षमा नगएको बताए। तर उनले टोलीको प्रदर्शनबाट भने आफू सन्तुष्टि भएको बताए। उनले भने—हामी दुई टोलीमध्ये राम्रो थियौं, तर नेपालले निर्णायक गोल गर्यो। हामीले गोल गर्ने धेरै अवसर गुमाएका थियौँ।
यो अखिल नेपाल फुटबल संघ (एन्फा) ले जापानी एनजीओ कलरबाथसँग आयोजना गरिएको च्यारिटी खेल थियो। यसबाट उठेको रकम गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षति भएका जिल्लामा सहयोग गर्ने आयोजकले जानकारी गराएको थियो।

नेपाल हालै मलेसियामा एएफसी सोलीडारिटी कपमा च्याम्पियन बनेको थियो। सोही नेपाली टोलीले जापानी टोलीसँग खेलेको थियो। योसमेत गरी नेपाली राष्ट्रिय टोलीको अपराजय खेलको संख्या ११ अंकमा पुगेको छ। यसअघि बंगबन्धु कपमा पाँच खेलमा अपराजेय हुँदै उपाधि जितेको,लाओससँग एक मैत्री खेलमा बराबरी खेलेको र सोलीडारिटी कपमा चार खेलमा अपराजेयसहित उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्